कोहलपुर नगर अस्पतालमा प्रसूति सेवा सुचारु रहने, २४ घण्टा नबित्दै निर्णय फिर्ता – Buletnews
चौतर्फी आलोचनापछि ‘यू–टर्न’ नगरपालिका 
कोहलपुर नगर अस्पतालमा प्रसूति सेवा सुचारु रहने, २४ घण्टा नबित्दै निर्णय फिर्ता

विभिन्न पेशा–व्यवसायी र आम नागरिकले कडा टिप्पणी पछि सेवा सुचारुको सुचना

  • बुलेट न्युज

कोहलपुर, बाँके:  कोहलपुर नगरपालिकाले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित कर्मचारीहरू निर्वाचनमा खटिएको कारण देखाउँदै कोहलपुर नगर अस्पतालमा प्रसूति सेवा बन्द गरिएको सूचना जारी गरेको २४ घण्टा नबित्दै आफ्नै निर्णय फिर्ता लिएको छ।

सोमवार सार्वजनिक गरिएको सूचनामा फाल्गुन २२ गतेसम्म प्रसूति सेवा बन्द रहने उल्लेख थियो। तर मंगलवार बिहानै सोही आधिकारिक फेसबुक पेजमार्फत नयाँ सूचना जारी गर्दै नगरपालिकाले “आवश्यक जनशक्ति व्यवस्थापन गरी साबिक अनुसार नै सेवा सुचारु गरिने” जनाएको छ।

‘२२ गतेसम्म सुत्केरी नहुनू’ भनेर पनि सूचना निकाल्नु पर्ने हो?
नगरपालिकाको निर्णय सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र बजार क्षेत्र तातियो। विभिन्न पेशा–व्यवसायी र आम नागरिकले कडा टिप्पणी गरे। स्थानीय शिक्षकले आक्रोश पोख्दै भनिन “यदि प्रसूति सेवा नै बन्द गर्ने हो भने २२ गतेसम्म महिलाहरू सुत्केरी नहुनू भनेर पनि सूचना निकाल्नुपर्थ्यो नि! स्वास्थ्य सेवा चुनावभन्दा तलको विषय हो र?”

अर्का एक नागरिकको भनाई पनि उस्तै आक्रामक थियो जस्मा उनले
“निर्वाचन लोकतन्त्रको पर्व हो, तर आमा र शिशुको स्वास्थ्य जीवन–मरणको प्रश्न हो। यस्तो संवेदनशील सेवा बन्द गर्ने निर्णय कसरी हुन्छ?” भन्ने प्रश्न गरेका थिए ।

चौतर्फी आलोचनापछि ‘यू–टर्न’ नगरपालिका 
महिला स्वास्थ्य सुरक्षामा स्थानीय निकाय गम्भीर नभएको आरोपसहित चौतर्फी आलोचना भएपछि नगरपालिकाले निर्णय फिर्ता लिँदै सेवा सुचारु गर्ने सूचना प्रवाह गर्न बाध्य भएको नगरपालिकाका एक उच्च स्रोतले जनाएको छ।
स्थानीय महिला अधिकारकर्मी भन्छिन्, “प्रसूति सेवा कुनै वैकल्पिक सुविधा होइन, आधारभूत र अत्यावश्यक सेवा हो। यस्तो निर्णयले महिलाहरूको सुरक्षामाथि खेलबाड गरेको सन्देश जान्छ।” तर  प्रश्न  पुर्व तयारी किन भएन भन्ने रहेको अभियान्ताहरु बताउछन ।

निर्वाचन जस्तो पूर्वनिर्धारित कार्यक्रमलाई लक्षित गरेर समयमै जनशक्ति व्यवस्थापन नगर्नु प्रशासनिक कमजोरी भएको भन्दै प्रश्न उठेका छन्।
नागरिक समाजका प्रतिनिधिहरूले अब यस्ता संवेदनशील सेवामा “निर्णय लिनुअघि परिणाम सोच्ने” संस्कार विकास गर्न आग्रह गरेका छन्।
हालका लागि भने कोहलपुर नगर अस्पतालमा प्रसूति सेवा साबिक अनुसार सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ। तर यो घटनाले स्थानीय तहको निर्णय प्रक्रिया र स्वास्थ्य सेवाप्रतिको जवाफदेहीतामा भने प्रश्न चिन्ह खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्