बाँके: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी ७ चैत देखि ४ वैशाखसम्म मधेश प्रदेशको पर्सा र जनकपुरमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार सुरुवाती केही खेल काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीमा पनि हुनेछ ।
फाइनलसहित अधिकांश खेलहरू भने मधेश प्रदेशमै हुनेछन् । प्रतियोगिताको पहिलो दिन जनकपुरमा कोशी र मधेश तथा पर्सामा लुम्बिनी र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी, निर्वाचन र लिग– २ क्रिकेटका कारण सरेको जय ट्रफीको फाइनलकाे पुन: नयाँ मिति तय भएको छ । लिग– २ क्रिकेट स्थगित भएपछि जय ट्रफीको फाइनल अगाडि सारिएको हो ।
अब फाइनल ३ देखि ५ चैतसम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । यसअघि १७ देखि १९ फागुनसम्मलाई तय भएको फाइनल पछाडि सरेर २१ देखि २३ चैतसम्म खेलाइने तय थियो ।











