कोहलपुर, बाँके : बाँके कोहलपुर तथा बैजनाथ क्षेत्रका विभिन्न स्थानमा “निःशुल्क जग्गा दिलाइदिन्छु” भन्ने प्रलोभन देखाएर सर्वसाधारणबाट फाराम भराउने र रकम असुल्ने गतिविधि बढ्न थालेपछि स्थानीयवासीलाई सचेत रहन आग्रह गरिएको छ।
दलित तथा सुकुम्बासी बस्ती व्यवस्थापनको नाममा अनधिकृत रूपमा फाराम भराएर सर्वसाधारणबाट रकम उठाएको आरोपमा अजय बैगारलाई प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो आग्रह गरिएको हो ।इलाका प्रहरी कार्यालय कोहलपुरले उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।
घटनापछि ईप्रका कोहलपुर अगाडि केही समय तनावपूर्ण अवस्था समेत सिर्जना भएको थियो। घटनाबारे स्पष्ट जानकारी माग गर्दै स्थानीयवासीहरूले प्रहरी कार्यालय अगाडि विरोध जनाएका थिए।
प्रहरीका अनुसार “निःशुल्क जग्गा उपलब्ध गराइदिने” नाममा सर्वसाधारणलाई भ्रममा पारेर आर्थिक लाभ लिन खोजिएको हुनसक्ने आशंकामा घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।
यसैबीच प्रहरीले सर्वसाधारणलाई यस्ता प्रलोभनमा नपर्न आग्रह गर्दै कुनै पनि व्यक्तिले जग्गा उपलब्ध गराइदिने भन्दै फाराम भराउन वा रकम मागेमा पहिले आधिकारिक सरकारी निकायसँग बुझेर मात्र प्रक्रिया अघि बढाउन सुझाव दिएको छ।
स्थानीय सरोकारवालाहरूले पनि ‘निःशुल्क जग्गा’को नाममा फैलिएको हल्ला तथा सम्भावित ठगीबाट बच्न सबैलाई सचेत रहन अपिल गरेका छन्। यस्ता भ्रामक र ठग प्रबृत्तीका पछि नलाग्न भन्दै भुमी आयोग बाँकेका अध्यक्ष घननाथ खनालले प्रक्रियागत हिसाबले सुकुम्बासी, दलित भुमीहिनहरुलाई जग्गा बितरण हुने जनाएका छन ।











