४ लाख पुरस्कारसहित कोहलपुर प्राइड लिग टि–२० क्रिकेट प्रतियोगिता भोलीदेखि – Buletnews
प्रतियोगिता चैत २ गतेसम्म
४ लाख पुरस्कारसहित कोहलपुर प्राइड लिग टि–२० क्रिकेट प्रतियोगिता भोलीदेखि

राष्ट्रिय खेलाडीको सहभागितासहित कोहलपुरमा क्रिकेटको उत्सव,कोहलपुरलाई खेलकुदको केन्द्रका रूपमा चिनाउन मद्दत

  • बुलेट न्युज

कोहलपुर, बाँके: बाँकेको कोहलपुरमा भोलि बिहिवारदेखि ‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ। प्रतियोगिता कोहलपुर–११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सञ्चालन गरिने आयोजकले जनाएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक विनायक गिरीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहनेछ। ब्राइटलाईट स्कुल, युनाइटेड भिजन क्रिकेट क्लब, एसपीए कलेज, कोहलपुर स्पोर्ट्स एकेडेमी, न्यू होराइजन स्पोर्ट्स क्लब र हिमालयन क्रिकेट एकेडेमीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका केही चर्चित खेलाडीहरू पनि मैदानमा उत्रिने आयोजकले जनाएको छ। कुशल मल्ल, भीम सार्की, विनोद भण्डारी लगायतका खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाउने विश्वास गरिएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ पाउनेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ।
कोहलपुर स्पोर्ट्स एकेडेमीको आयोजनामा, कोहलपुर नगरपालिकाको संरक्षण तथा बाँके जिल्ला क्रिकेट संघको समन्वयमा सञ्चालन हुने प्रतियोगिता चैत २ गतेसम्म चल्नेछ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीले कोहलपुर प्राइड लिगले स्थानीय क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनका अनुसार यस्ता प्रतियोगिताले खेलाडी उत्पादनसँगै कोहलपुरलाई खेलकुदको केन्द्रका रूपमा चिनाउन मद्दत पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्