बाँकेमा ज्वरो र रुघाखोकीका बिरामीको चाप – Buletnews
भाइरल फ्लु ! सतर्क रहनुहोस ।
बाँकेमा ज्वरो र रुघाखोकीका बिरामीको चाप

उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने लगायतका लक्षण देखिने बिरामीको संख्या अधिक

  • बुलेट न्युज

बाँके: जाडोबाट गर्मीमा मौसम परिवर्तन हुन थालेसँगै बाँके जिल्लामा फेरी रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । केही दिन अघिसम्म रहेको अत्यधिक जाडो र त्यसपछि शुरु भएको हल्का गर्मीका कारण जिल्लामा ज्वरो, रुघाखोकी, निमोनिया र पखालाका बिरामीहरुको संख्या बढेको अस्पतालहरुले जनाएका छन् ।

भेरी अस्पतालका सूचना अधिकारी एवं वरिष्ठ फिजिसियन डा. संकेत कुमार रिसालका अनुसार अहिले मौसम परिवर्तन भइरहेकोले उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने लगायतका लक्षण देखिने बिरामी फेरी अस्पतालमा सबैभन्दा बढी आउन थालेका छन् । उनले सोही कारणले अहिले अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको पनि बताए । अस्पतालको बहिरंग विभागमा आउने मध्ये आधा भन्दा बढी विरामी भाइरल फ्लुकै विरामी हुने गरेको भेरी अस्पतालले जनाएको छ ।

यसैगरी नेपालगन्जस्थित सन्जिवनि अस्पतालले पनि पछिल्लो समयमा मौसममा आएको परिवर्तनका कारण भाइरलफ्लुका बिरामीहरु उपचारका लागि अस्पतालमा धेरै आइरहेको जनाएको छ । सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले पछिल्लो समयमा रुघाखोकी, ज्वरो र पखाला लगायतका धेरै बिरामी अस्पतालमा उपचार गराउन आइरहेको बताए  ।

सोही प्रकारले कोहलपुर, नेपालगन्जका अन्य विभिन्न अस्पतालहरुमा पनि मौसमका कारण भाइरलको सङ्क्रमण भएर उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता समस्यामा बिरामीको संख्या बढेको ती अस्पतालले जनाएका छन् ।

यसैगरी चिकित्सकहरुका नीजि क्लिनिकहरुमा पनि केही दिनयता भाइरल ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामीहरु आउनेक्रम बढेको चिकित्सकहरुले जनाएका छन् । निजि क्लिनिक सञ्चालक वरिष्ठ फिजिसियन डा. प्रकाश नागले मौसम परिर्वतन, दुषित पानी र खानपिनमा उचित ध्यान नपुरयाउँदा अहिले बिरामी धेरै बढेको बताए । उनले हाल देखिएको भाइरल ज्वरोबाट निको हुन सात दिन भन्दा बढी समय लाग्ने र ज्वरो पनि निकै कडा खालको हुने गरेकोले समयमै उपचार सुरु गर्नुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्