मध्यपूर्वमा उत्पन्न भएको तनावका कारण कच्चा सामग्रीको आयात ठप्प भएपछि प्लास्टिक दाना नपाउँदा प्लास्टिकजन्य र प्याकेजिङ उद्योगमा सङ्कट गहिरिएको छ । पानीका बोतल, बोतलका बिर्का, खानेपानी र भवन निर्माणमा प्रयोग हुने पाइप, मोटरसाइकलका हेलमेट कम्पनी, प्लास्टिकका कुर्ची, प्याकेजिङका प्लास्टिक, कार्टुनलगायतका सामग्री उत्पादनमा असर देखिएको उद्योगी कार्कीको भनाइ छ ।
“कच्चा पदार्थ नआउँदा हाम्रो उत्पादन नै घटिरहेको छ”, उनले भने । कच्चा सामग्रीको आयात रोकिएसँगै उत्पादन पनि घटेको उद्योगी कार्कीले बताए। उत्पादन घटेसँगै उद्योग सञ्चालनमा समेत समस्या देखिएको छ । पेट्रो केमिकलसँग सम्बन्धित कच्चा पदार्थ तेस्रो मुलुकबाट भारत हुँदै नेपाल भित्रिने गर्छ । तर, अहिले भारतले आफ्नै बजारमा अभाव हुन नदिन निर्यातमा कडाइ गरेपछि यहाँका उद्योगहरू सङ्कटमा परेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताए ।
उनका अनुसार पेट्रोकेमिकलसँग सम्बन्धित कच्चा पदार्थ अभावले अहिले प्लास्टिकजन्य उत्पादनमात्र नभई, दैनिक उपभोग्य वस्तु उत्पादनमा समेत असर देखिन थालेको छ । यदि अन्तरराष्ट्रिय परिस्थिति यस्तै रहिरह्यो भने यसको असर अझ गहिरिँदै जानेछ ।











