बाँके: कोहलपुर नगरपालिका–१० स्थित त्रिभुवन माध्यमिक विद्यालय परिसरमा रहेको लिप्टिस घारीमा आगलागी भएको छ।
स्थानीयका अनुसार आगलागी नसालु पदार्थ सेवन गर्ने व्यक्तिहरूले लगाएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, समाचार तयार पार्दासम्म यस घटनामा संलग्न कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन।
आगलागीको सूचना पाएलगत्तै कोहलपुर नगरपालिकाको दमकल, नगर प्रहरी र नेपाल प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। समयमै आगो निभाइएकाले कुनै मानवीय वा ठूलो भौतिक क्षति हुन पाएन।

स्थानीय बासिन्दाका अनुसार आगो बस्तीमा फैलिएको भए ठूलो धनजनको क्षति हुन सक्थ्यो। “समयमै नियन्त्रणमा आयो, ठूलो दुर्घटना टर्यो,” भन्दै स्थानीयले राहतको महसुस गरेका छन्।

पछिल्लो समय विद्यालय परिसरमै नसालु पदार्थ सेवन गर्ने गतिविधि बढ्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने उनीहरूको माग रहेको छ।











