नेपालगञ्जस्थित भेरी अस्पतालका ६ चिकित्सकको काज फिर्ता – Buletnews
नेपालगञ्जस्थित भेरी अस्पतालका ६ चिकित्सकको काज फिर्ता

सरकारको यस कदमले भेरी अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा

  • बुलेट न्युज

नेपालगञ्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी रहेको अस्पतालमै फिर्ता पठाउन सुरु गरेको छ । यससँगै एक अस्पतालमा दरबन्दी भएर काजमा अन्यत्र बसेका चिकित्सकहरूले अब मूल दरबन्दी भएकै अस्पतालमा फर्किएर काम गर्नुपर्ने भएको छ । सोही क्रममा पश्चिम नेपालको महत्त्वपूर्ण सरकारी अस्पताल भेरी अस्पतालमा दरबन्दी रहेका ६ जना विशेषज्ञ चिकित्सकको काज पनि मन्त्रालयले फिर्ता गरेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार काज फिर्ता गरिएका चिकित्सकहरूमा कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. वसन्त रेग्मी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा.सुजन ढकाल, वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. रविन्द्र बास्कोटा, कन्सल्टेन्ट पेडियाट्रिसियन डा. प्रकाश पुन, कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. सविता विश्वकर्मा, कन्सल्टेन्ट कार्डियोथोरासिक सर्जन डा. निरज भट्टराई र वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेन्द्र बस्नेत रहेका छन ।

उनका अनुसार डा. रेग्मी लुम्बिनी प्रदेशअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, डा. ढकाल कोशी प्रदेशअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, डा. बास्कोटा स्वास्थ्य सेवा विभाग काठमाडौँ, डा. पुन लुम्बिनी प्रदेशअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, डा. विश्वकर्मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा काजमा कार्यरत हुनुहुन्थ्यो ।

त्यसैगरी, डा.भट्टराई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र डा. सुरेन्द्र बस्नेत सुदूरपश्चिम प्रदेशअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा थिए । वरिष्ठ कन्सल्टेन्ट सर्जन डा.बस्नेत भने यसअघि नै साविक दरबन्दी रहेको भेरी अस्पतालमा फर्किसकेका छन ।

मन्त्रालयले विभिन्न प्रदेश तथा निकायमा काजमा खटाइएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मूल दरबन्दीमा फर्काउने नीति लिएको छ । सोहीअनुसार अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको काज फिर्ता गर्दै आएको छ ।

भेरी अस्पताल विकास समितिले लामो समयसम्म काजमा कार्यरत कर्मचारीलाई दरबन्दीमा फर्काउँदा सेवा प्रवाह थप प्रभावकारी हुने, जनशक्ति व्यवस्थापन सुदृढ हुने र संस्थागत जिम्मेवारी पूरा गर्न सहज हुने जनाएको छ ।

भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले काज फिर्ता गरिएका चिकित्सकहरूलाई मन्त्रालयले सम्बन्धित कार्यालयमा तत्काल हाजिर हुन निर्देशन दिएको जानकारी दिए । निर्णय कार्यान्वयनमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई पनि मन्त्रालयले निर्देशन दिएको उनले बताए।

भेरी अस्पतालका प्रमुख डा. सुवेदीले सरकारको यस कदमले भेरी अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको बताए । विशेषगरी विशेषज्ञ चिकित्सकको अभाव रहेको भेरी अस्पताललाई यस निर्णयबाट ठूलो लाभ पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्