राप्तीसोनारी, बाँके: राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा अवस्थित बैंकटेश्वर बजरंगबली मन्दिर व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
साधारण सभामा आगामी आर्थिक वर्षको बजेट, मन्दिरको दीर्घकालीन विकास योजना तथा नयाँ सदस्यहरूको चयन लगायतका विषयमा छलफल गरिएको थियो।
समितिका अध्यक्ष कमल गिरीले सभामा सहभागी सबैप्रति आभार व्यक्त गर्दै मन्दिरको संरक्षण र विकासमा निरन्तर सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गरे। उनले आगामी दिनमा पनि सबैले सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा राप्ती सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष सोहनलाल चौधरीले मन्दिरलाई स्थानीय समुदायको महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा व्याख्या गर्दै यसको संरक्षणमा सबैको साझा दायित्व रहेको बताए। उनले समुदायमा एकता, प्रेमभाव र धार्मिक गतिविधिहरूलाई सुदृढ बनाउन मन्दिरको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई यी मूल्यहरू हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा ढकेरी क्षेत्रका समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।











