बाँके :एएफसी यू-२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ। ताजकिस्तानमा गएराति भएको खेलमा नेपाली टोली ४-० ले घरेलु टोलीसँग हारेको हो। खेलको पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल खायो।
पहिलो हाफको ३९औँ मिनेटमा मुहम्मदाली अजिजबाइभको गोलमा ताजकिस्तानले नेपालविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। खेलको ५८औँ मिनेटमा मुहम्मदालीको व्यक्तिगत दोस्रो गोलमा घरेलु टोलीले अग्रता दोब्बर पार्यो। ताजकिस्तानको वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रहमातजोडा रहमातसोहले खेलको ८९औँ मिनेटमा गोल थप्दै नेपालविरुद्धको अग्रता फराकिलो पारे।
इन्ज्युरी समयको पहिलो मिनेटमा अर्का वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका सारिपोभ डालेरले गोल गरेपछि ताजकिस्तान नेपालविरुद्ध ४-० ले विजयी भयो। समूह केमा रहेको नेपाल अब दोस्रो खेलमा शनिबार सिरियासँग भिड्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले फिलिपिन्सविरुद्ध खेल्ने तालिका छ।
एसियन कप छनोटमा सहभागी ४४ टोली ११ समूहमा बाँडिएका छन्। हरेक समूहमा ४ टोली छन्। हरेक समूहका विजेता टोलीले अन्तिम चरणमा स्पर्धा गर्नेछन्। यस्तै चार उत्कृष्ट समूह उपविजेता टोलीले पनि एसियन कपमा स्थान पक्का गर्नेछन्। आयोजक साउदी अरेबिया भने आयोजकका रूपमा यसअघि नै छनोट भइसकेको छ।
यसैबीच नेपाली टोलीका आयुष घलानले ताजकिस्तानविरुद्ध खेल्न पाएनन्। २०७९ असोज ३ गते बहराइनमा बंगलादेशविरुद्ध भएको खेलमा अमर्यादिद क्रियाकलाप गरेपछि एएफसीले उनलाई कारबाही गरेको हो।
एएफसीको उमेर समूहको खेलमै उनले बंगलादेशका खेलाडीलाई मिडल फिंगर देखाएका थिए। सोही कारण एएफसीले उनलाई एक खेलमा प्रतिबन्ध लगाएको हो। त्यसयता एएफसीका उमेर समूहका प्रतियोगिता नखेलेका आयुषले लामो समयपछि एक खेलमा निलम्बनको सजाय भोगेका हुन्।











