कोहलपुर, बाँके: बाँकेको कोहलपुरमा संचालन गरिएको तिव्र कुपोषणको एकिकृत व्यवस्थापन सम्बन्धी तीनदिने प्रशिक्षक तालिम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा जिल्लामा संचालन गरेको पोषण परियोजना अन्तर्गत सो तालिम कोहलपुर नगरपालिकामा सम्पन्न भएको हो । सो तालिमको उद्देश्य सहभागीहरूको क्षमता अभिवृद्धि गरी समुदाय तथा स्वास्थ्य संस्थास्तरमा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न सक्षम बनाउनु रहेको क्लबले जनाएको छ ।
तालिममा कुपोषणको पहिचान, उपचार, प्रतिवेदन प्रणाली तथा सहजीकरण सीपमा विशेष जोड दिइएको थियो ।कार्यक्रमको उद्घाटन सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत प्रेम प्रसाद पाण्डेले गरेका थिए।
संयोजक विश्वकर्माले पोषण क्षेत्रमा पहिल्यै दक्षता भएपनि यस तालिमले ज्ञान अद्यावधिक गर्नुका साथै सेवा प्रवाहमा आत्मविश्वास बढाएको बताए। उनले महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक अगुवा, आमा समूह र युवा क्लबको सक्रिय सहभागिताले कार्यक्रमको प्रभाव अझ दीर्घकालीन हुने उल्लेख गरे ।अद्यावधिक निर्देशिका अनुसार सञ्चालन गरिएको सो तालिममा प्राविधिक ज्ञान प्रदान गर्न प्रस्तुतीकरण, समूहकार्य तथा व्यवहारिक अभ्यास जस्ता सहभागितामूलक विधिहरू प्रयोग गरिएको थियो ।
यसले सहभागीहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्नुका साथै सरोकारवालाबीच समन्वय र सहकार्य पनि सुदृढ बनाएको आयोजकले जनाएको छ ।कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेलको विशेष उपस्थिति रहेको थियो । तालिमको सहजीकरण स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्त मल्ल, जनस्वास्थ्य अधिकृत अनिल कुमार सेन तथा जनस्वास्थ्य प्रशिक्षक अमृत राणाले गरेका थिए ।
पौडेलले समुदायको पोषण अवस्थालाई सुधार गर्न प्रभावकारी कार्यक्रम सञ्चालन, सूक्ष्म योजना तथा समयमै गुणस्तरीय उपचार सेवा अत्यन्त आवश्यक रहेको बताईन ।कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल कुमार सेनले सहभागीहरूलाई अद्यावधिक प्रोटोकल अनुसार काम गर्न आग्रह गर्दै महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गर्ने, पालिकासँग सहकार्य गर्दै पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिलाको स्क्रिनिङलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । साथै उनले बाँके युनेस्को क्लब र हेलन केलर इन्टरनेशनल नेपाललाई प्राविधिक तथा आर्थिक सहयोगका लागि धन्यवाद व्यक्त गरे ।तालिममा कोहलपुर नगरपालिकाका वडा नम्बर १ देखि १५ सम्मका २४ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।











