बाँके: जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार गत ६ महिनाको अवधीमा अदालतले विभिन्न मुद्दामा सजाय र जरिवानाको फैसला सुनाएपनि हालसम्म फरार रहेका २७० जना फरार प्रतिवादीलाई प्रहरीले बाँकेमा पक्राउ गरेको छ ।
पक्राउ परेका फरार प्रतिवादीहरूबाट तीन करोड ३५ लाख ३४ हजार ४९८ रुपियाँ जरिवाना समेत असुल गरिएको पातलीको भनाई छ। पक्राउ परेकाहरूमाथि १२५ वर्ष १ महिना ९ दिन कैद सजाय तोकिएको पाइएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोही अवधिमा बाँके जिल्लामा कुल एक हजार १३२ वटा मुद्दा दर्ता हुँदा ९३९ जना अभियुक्तलाई पनि पक्राउ गरेर कानुनी कारवाही गरिएको सो कार्यालयले जनाएको छ । सोही प्रकारले लागु औषध नियन्त्रण अभियान अन्तर्गत गत ६ महिनामा प्रहरीले जिल्लामा २१२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिंदै भने।
उनका अनुसार बरामद लागु औषधतर्फ एक किलो ५०० ग्राम ३२२ मिलिग्राम ब्राउन सुगर, पाँच किलो ६६ ग्राम ८९० मिलिग्राम गाँजा, ५०० मिलिलिटर कोरेक्स, दुई हजार ७०९ ट्याब्लेट नाइट्रोजेपाम र ४ हजार १७२ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ।
लागु औषधसहित पक्राउ पर्नेमा १९१ पुरुष, नौ महिला र १२ भारतीय नागरिक रहेका छन् । यसैगरी गत ६ महिनामा ३८८ जना हराएको निवेदन परेकोमा ३४३ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको प्रहरी नायब उपरीक्षक पातलीले बताए।
सोही प्रकारले ट्राफिक कारबाहीतर्फ गत ६ महिनामा जिल्लाभर १५ हजार ६६७ वटा सवारी साधनलाई कारबाही गर्दै एक करोड २७ लाख १९ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका क्रममा ५२ वटा सवारी साधन नियन्त्रणमा लिँदै छ लाख २५ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।











