ढकेरी वनस्पति उद्यानमा उत्सव – Buletnews
ढकेरी वनस्पति उद्यानमा उत्सव

६६औँ वार्षिक उत्सव र २७औँ वनस्पति दिवस भव्य, संरक्षण र पूर्वाधार विकासमा जोड

  • भुवन थापा

राप्तीसोनारी,बाँके: राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा अवस्थित ढकेरी वनस्पति उद्यानले आफ्नो ६६औँ वार्षिक उत्सव तथा २७औँ वनस्पति उद्यान दिवस भव्य रूपमा मनाएको छ। विविध कार्यक्रमका साथ सम्पन्न उक्त समारोहले उद्यानको संरक्षण, विकास र पर्यटन प्रवर्द्धनमा थप ऊर्जा प्रदान गरेको बताईएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का अध्यक्ष सोहनलाल चौधरीले गमलामा जल सेचन गरी समारोहको उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले उद्यान क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारमा ध्यान दिनुपर्नेमा जोड दिए। विशेषगरी अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने उल्लेख गर्दै पार्किङ व्यवस्थापन र अधुरो पर्खाल निर्माण कार्यलाई अघि बढाउन प्रदेश सरकारसँग समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

वनस्पति उद्यानका वरिष्ठ वैज्ञानिक अधिकृत दिनेश बरालले उद्यानमा हाल ५०० भन्दा बढी वनस्पतिहरू संरक्षण गरिएको जानकारी दिए । उनका अनुसार साइकस, सर्पगन्धा, शक्तिशाली कुरिलो, कुचिल्ला लगायतका महत्वपूर्ण तथा दुर्लभ वनस्पतिहरूको विशेष संरक्षण आवश्यक रहेको छ। साथै, उद्यान अवलोकनका लागि आउने आन्तरिक पर्यटकहरूले स्थानीय बजार तथा व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यसले पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको बताए ।

कार्यक्रममा सहभागी स्थानीय समाजसेवी, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका सदस्य तथा विद्यालयका प्रधानाध्यापकहरूले “ढकेरी वनस्पति उद्यान हामी सबैको साझा सम्पत्ति हो” भन्ने धारणा राख्दै यसको संरक्षण र प्रवर्द्धनमा सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए।

उत्सवको अवसरमा उद्यानभित्र उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमले स्थानीय स्तरमा वनस्पति संरक्षणप्रति जागरूकता अभिवृद्धि गर्नुका साथै उद्यानलाई अझ व्यवस्थित र आकर्षक बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्