बाँके: विक्रम संवतको पहिलो दिन वैशाख १ गते नेपालगञ्जमा नेपाली राष्ट्रिय झण्डा महोत्सव गरी राष्ट्रिय झण्डा दिवस मनाइएको छ। नेपालगञ्जको बीपी चोकमा भेला भएका अगुवा तथा स्थानीय बासिन्दाले ११औँ राष्ट्रिय झण्डा दिवसको अवसरमा झण्डा महोत्सव मनाएका हुन्।
राष्ट्रिय झण्डासहित उपस्थित सहभागीहरूले वैशाख १ गते नेपालीका लागि उत्सवको दिन भएको बताएका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाकी पूर्व उपप्रमुख उमा थापा मगरले विक्रम संवत नेपालको मौलिक पहिचान भएको भन्दै यसै दिन झण्डा दिवस मनाउनु गौरवको विषय भएको बताईन ।

उनले भनिन , “राष्ट्रिय झण्डा दिवसमा स्वतःस्फूर्त रूपमा नागरिक सडकमा आएर उत्सव मनाउनु आफैँमा गौरवको विषय हो।”
बास नेपाल र अन्तरालको संयुक्त आयोजनामा उक्त दिवस मनाइएको हो। नेपालगञ्जमा हरेक वर्ष राष्ट्रिय झण्डा दिवस मनाउने गरिएको छ।
अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाहले राष्ट्रिय झण्डाले हरेक नेपालीलाई एकताको सूत्रमा बाँध्ने भएकाले नेपाली नयाँ वर्षको पहिलो दिन देशको ध्वजाको सम्मानमा यो महोत्सव मनाउन थालिएको बताए।











