काठमाण्डाै: गण्डकी प्रदेशका ओपनर अर्जुन कुमाल प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको एकै संस्करणमा ५०० रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।
वीरगञ्जमा आज भएको कर्णाली प्रदेशसँगको खेलमा २० वर्षीय कुमालले ६ रन जाेड्दै यो उपलब्धि हासिल गरेका हुन् । उनले ९ खेलमा २ शतक र २ अर्धशतकसहित ५०४ रन बनाएका छन् ।
यसअघि सन् २०२३–२०२४ को संस्करणमा मधेश प्रदेशका अनिलकुमार साहले ९ खेलमा ३८६ रन बनाएका थिए ।
उमेर समूहका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियाेगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका कुमालले राष्ट्रिय टाेलीबाट कहिले डेब्यु गर्छन् भन्ने चासाे बढ्दै गएकाे छ ।

प्रधानमन्त्री कप क्रिकेटमा आज भएका खेलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
गण्डकीले कर्णाली प्रदेशलाई ९ विकेटले हरायाे । कर्णालीले दिएको ७३ रनको लक्ष्य गण्डकीले १३ ओभरमा १ विकेट गुमाएर भेटायो । गण्डकीका सिब्रिन श्रेष्ठले नटआउट ४० रन बनाए । कर्णालीका विपिन शर्माले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको कर्णाली २५ ओभर २ बलमा ७२ रनमा अलआउट भयो । कर्णालीका प्रकाश जैशीले सबैभन्दा धेरै नटआउट १५ रन बनाए । गण्डकीका कप्तान विपिन खत्रीले ५ विकेट लिए ।
यस्तै जनकपुरमा भएको खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ३४ रनले हरायो । लुम्बिनीले दिएको २३४ रनको लक्ष्य पछ्याएको बागमती ४५ ओभर २ बलमा २३३ रनमा अलआउट भयो । बागमतीका विवेक मगरले ४५ रन बनाए । लुम्बिनीका निर्मल गुरुङले ५ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभर २ बलमा २३३ रन बनाउँदा सबै विकेट गुमायो । लुम्बिनीका आकाश त्रिपाठीले ७२ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछाने र विवेक मगरले ३/३ विकेट लिए ।
अब प्रतियोगितामा भोलि समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । यसपछि शीर्ष ६ मा रहेर अर्काे वर्षको प्रधानमन्त्री कपमा खेल्ने टोलीको टुङ्गो लाग्ने छ ।
प्रतियोगिताको फाइनल खेल्ने टोलीको टुङ्गो लागिसकेको छ । शीर्ष २ मा रहेको त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच आउँदो शुक्रवार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।











