राप्तीसोनारी,बाँके:राप्ती सोनारी–९, ढकेरीमा अवस्थित ढकेरी वनस्पति उद्यानमा नयाँ वर्षको अवसरमा करिब १० हजार आगन्तुकले अवलोकन गरेका छन्। हरियाली वातावरण, रङ्गीचङ्गी फूल र विविध वनस्पतिका कारण उद्यान यतिबेला आन्तरिक पर्यटकको प्रमुख आकर्षण बनेको छ।
नयाँ वर्ष मनाउन परिवार, साथीभाइ तथा आफन्तसँग उद्यान पुगेका आगन्तुकहरूले यहाँको प्राकृतिक सौन्दर्यको खुलेर प्रशंसा गरेका छन्। कोहलपुरका सन्तोष गौतमले उद्यानको हरियाली, फूलबारी र व्यवस्थित संरचनाले मन लोभ्याएको बताउँदै यसलाई उत्कृष्ट घुमफिर गन्तव्यका रूपमा व्याख्या गरे।
उद्यानका वैज्ञानिक अधिकृत रामकृष्ण भण्डारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष आगन्तुकको संख्या उल्लेखनीय रूपमा बढेको छ। “यस वर्ष धेरै प्रजातिका बोटबिरुवा तथा फूलहरू फुलेका छन्, जसले उद्यानलाई अझ आकर्षक बनाएको छ,” उनले भने।

नमुना जडीबुटीको भण्डार
ढकेरी वनस्पति उद्यान जडीबुटीको संरक्षण र अध्ययनका लागि पनि महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ। यहाँ पाइने प्रमुख जडीबुटीहरूमा अश्वगन्धा, तुलसी, बोजो, सतुवा, हर्रो, बर्रो लगायतका बहुमूल्य औषधीय वनस्पति रहेका छन ।
अश्वगन्धा: शारीरिक कमजोरी, तनाव तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी ।
तुलसी: रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्यामा लाभदायक ।
बोजो: घाँटी दुख्ने, आवाज बस्ने र पाचन समस्या सुधार गर्न प्रयोग हुने ।
सतुवा: पोषणयुक्त जडीबुटी, ऊर्जा र स्वास्थ्यका लागि महत्वपूर्ण
हर्रो–बर्रो: आयुर्वेदमा प्रयोग हुने, पाचन प्रणाली सुधार तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने ।
उद्यानमा रहेका यी जडीबुटीहरूले अध्ययन, अनुसन्धान तथा स्वास्थ्योपचारका दृष्टिले विशेष महत्व राख्दै आएको उद्यानका कर्मचारी बताउँछन ।
संरक्षण र पर्यटनको संगम
ढकेरी वनस्पति उद्यानले वनस्पति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ। प्राकृतिक सौन्दर्य, शैक्षिक महत्व र जडीबुटीको विविधताले उद्यानलाई पछिल्लो समय उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गरेको छ। नयाँ वर्षको अवसरमा देखिएको आगन्तुकको उत्साहले आगामी दिनमा यहाँको पर्यटन गतिविधि अझ विस्तार हुने अपेक्षा स्थानियवासीहरुले लिएका छन ।











