कोहलपुर नगरपालिकाद्वारा विद्यालयलाई निर्णय कार्यान्वयन र सहजीकरण सम्बन्धी निर्देशन – Buletnews
कोहलपुर नगरपालिकाद्वारा विद्यालयलाई निर्णय कार्यान्वयन र सहजीकरण सम्बन्धी निर्देशन

नयाँ शैक्षिक सत्र २०८३ का लागि विभिन्न तयारी र व्यवस्थापनका काम तत्काल अघि बढाउन आग्रह

  • बुलेट न्युज

बाँके: कोहलपुर नगरपालिका ले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूलाई निर्णय कार्यान्वयन तथा सहजीकरण सम्बन्धी निर्देशन जारी गरेको छ।

नगर कार्यपालिकाको कार्यालयद्वारा जारी पत्र अनुसार नगर प्रमुखको उपस्थितिमा बसेको प्रधानाध्यापक, शिक्षक महासंघ तथा विभिन्न शैक्षिक सरोकारवालाहरूको संयुक्त बैठकले शैक्षिक सत्र २०८३ लाई व्यवस्थित बनाउन विभिन्न निर्णयहरू गरेको छ। सोही निर्णयहरू कार्यान्वयन गर्न विद्यालयहरूलाई अनुरोध गरिएको छ।

जारी निर्देशनअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त निर्देशनहरूको पालना गर्दै विद्यालयहरूले आफ्नो वार्षिक शैक्षिक कार्यक्रम तयार गरी लागू गर्नुपर्नेछ। साथै, शैक्षिक सामग्री निर्माण तथा व्यवस्थापन, निःशुल्क पाठ्यपुस्तक खरिद तथा वितरण, र विद्यालयको वार्षिक शैक्षिक योजना निर्माणमा जोड दिइएको छ।

त्यसैगरी, विद्यालयहरूको IEMIS प्रणालीमा रहेका विवरणहरू अद्यावधिक गर्न, नियमित भर्ना कार्यक्रम सञ्चालन गर्न र समयमै पठनपाठन सुरु गर्न समेत आग्रह गरिएको छ। शिक्षकहरूको पेशागत क्षमता विकासका लागि आवश्यक तालिम तथा कार्यक्रम सञ्चालन गर्न पनि नगरपालिकाले निर्देशन दिएको छ।

निर्देशनमा सार्वजनिक बिदाको व्यवस्थापन, शिक्षकहरूको बिदा अभिलेख अद्यावधिक गर्ने, तथा विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी प्रक्रिया समयमै पूरा गर्नुपर्ने विषय समेत समेटिएको छ।
नगरपालिकाले सबै विद्यालयहरूलाई तोकिएका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्‍याउन आग्रह गरेको छ।

यसै गरि नगरपालिकाले आज बैशाख ३ गते देखि भर्ना अभियान शुरु गरि बैशाख १४ गतेदेखि पठनपाठन सन्चालन गर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्