कोहलपुरमा अर्धनग्न प्रदर्शन गर्दै मूल्यवृद्धिविरुद्ध भण्डारीको विरोध – Buletnews
कोहलपुरमा अर्धनग्न प्रदर्शन गर्दै मूल्यवृद्धिविरुद्ध भण्डारीको विरोध

पेट्रोलियम र दैनिक उपभोग्य वस्तुको महँगीले जनजीवन कष्टकर बनेको भन्दै सांकेतिक प्रदर्शन

  • बुलेट न्युज

कोहलपुर,बाँके:समाजमा व्याप्त अन्याय, विकृति तथा भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भुम बहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिविरुद्ध कोहलपुर चौराहामा सांकेतिक विरोध प्रदर्शन गरेका छन्।

बिहीबार मध्याह्नको चर्को घाममा अर्धनग्न अवस्थामा करिब आधा घण्टासम्म ढाड सेक्दै उनले सरकारको आर्थिक नीतिप्रति असन्तुष्टि जनाएका हुन्। भण्डारीले पेट्रोलियम पदार्थ, खाने तेल, चिनी लगायत अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको बताए।

उनका अनुसार मूल्यवृद्धिको विरोधस्वरूप आफूले ढाड सेक्ने सांकेतिक प्रदर्शन गरेका हुन्। “जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भइरहेको छ, त्यसैको विरोधमा मैले ढाड सेक्ने प्रदर्शन गरेको हुँ,” उनले भने।

नयाँ सरकार गठनसँगै जनतामा आशा र अपेक्षा बढे पनि सरकार व्यवहारमा प्रचारमुखी मात्र बनेको उनले आरोप लगाए। प्रदर्शनका क्रममा उनले सरकारको आलोचना गर्दै विभिन्न व्यंग्यात्मक पम्प्लेटसमेत प्रदर्शन गरेका थिए। पम्प्लेटहरूमा “भाषण होइन, रासन राहत चाहियो”, “जनता बजारमा हाकार छ”, “चिनी छैन, तेल महँगो छ, जनता रुँदै छन्” जस्ता नारा लेखिएका थिए।

त्यसैगरी, “सरकार बिचौलिया होइन, नागरिकको अभिभावक हो; सरकारको काम व्यापार होइन, सुशासन र व्यवस्थापन हो” भन्ने सन्देशमार्फत उनले सरकारलाई जनउत्तरदायी बन्न आग्रह गरे।
भण्डारीको उक्त प्रदर्शनले स्थानीयवासीको ध्यानाकर्षणसमेत गरेको थियो। उनले मूल्यवृद्धि नियन्त्रण गर्दै जनतामाथिको आर्थिक भार कम गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्