कालीकोट:कालीकोटको नरहरिनाथ गाउँपालिका–८ की २७ वर्षीय भावना विष्टको उपचारका क्रममा मृत्यु भयो । प्रदेश अस्पताल सुर्खेतमा चैत ३० गते शल्यक्रियामार्फत सुत्केरी भएकी उनको पहिलो अपरेसन सफल भए पनि वैशाख २ गते रगत जमेको भन्दै गरिएको दोस्रो शल्यक्रियापछि अवस्था जटिल बन्यो । अवस्था बिग्रँदै गएपछि परिवारले करिब आठ लाख ६० हजार रुपियाँ खर्च गरेर चिकित्सकसहितको हेलिकोप्टर चार्टर गरी उनलाई काठमाडौँ लगेका थिए । काठमाडौँस्थित मेडिसिटी अस्पताल पुरयाएलगत्तै चिकित्सकले मृत घोषणा गरे ।
यस्तै २०८० भदौ ३१ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–२ की जानकी रेग्मीको पनि अस्पतालमै मृत्यु भयो । उनलाई सुत्केरी बेथाले च्यापेपछि प्रदेश अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएको थियो । अन्य समस्या नदेखिए पनि सुत्केरी भएको दुई दिनपछि उनको मृत्यु भएको अस्पतालले घोषणा गरयो । यी दुवै घटना एउटै प्रकृतिका हुन् । यसरी कर्णालीका कैयन सुत्केरीको अस्पतालमै ज्यान जाने गरेको छ । कर्णालीमा कतिपय गर्भवतीले स्वास्थ्य संस्थामा पुगिसकेपछि ज्यान गुमाउँछन् भने कतिपयले स्वास्थ्य संस्था पुग्न नपाएर मृत्युवरण गरिरहेका छन् ।
आमाहरूको मात्रै होइन, शिशुको मृत्यु पनि उस्तै चिन्ताजनक छ । कर्णालीमा मातृशिशु मृत्युदर डरलाग्दो छ । प्रदेशमा बर्सेनि विभिन्न कारणले सुत्केरी र नवजात शिशुको ज्यान जाने गरेको छ । अत्यधिक रक्तस्राव, इम्बोलिजम्, पाठेघर फुट्ने समस्या, गर्भवती अवस्थामा हुने कम्पन (मुर्छा पर्ने समस्या) लगायतका कारण सुत्केरीले ज्यान गुमाउने गरेका छन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कका अनुसार कर्णालीमा अझै पनि राष्ट्रिय र अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर १७२ -प्रति एक लाखमा) रहेको छ । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्ममा कर्णालीको मातृ मृत्युदर ७० प्रतिशतमा झार्ने गरी सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले काम गरिरहेको दाबी गरिरहेका छन् तर प्रदेशमा भौगोलिक रूपले मात्रै होइन, सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति उपलब्ध भएको भनिएको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमै सुत्केरी हुन पुग्ने ठुलो सङ्ख्यामा महिलाले ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ ।
स्वास्थ्य संस्थामा ब्लड बैङ्क र आइसियु सुविधा नभएकाले डेलिभरीको समयमा सुत्केरीको ज्यान जाने गरेको छ । रगतको व्यवस्थापन तुरुन्तै नहुँदा सुत्केरीको ज्यान जाने गरेको छ । कैयौँ अस्पतालमा सुत्केरीको पाठेघर खुम्च्याउने औषधी अभाव हुँदा पनि रक्तस्राव रोक्न कठिन हुन्छ । सुत्केरी र गर्भवती महिलाका लागि नेपाल सरकारले पनि आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण, बाटो खर्च र न्यानो झोला कार्यक्रम सञ्चालन गरेको छ तर त्यसको प्रभावकारिता शङ्कारहित छैन । घरमै, अस्पताल लैजाँदा बाटामै र एउटा स्वास्थ्य संस्थाबाट अन्यत्र रिफर गर्दागर्दै गर्भवती र सुत्केरीको मृत्यु हुने गरेको दैलेखको आठबिस नगरपालिका–९ को छेपाडी स्वास्थ्य चौकीका अनमी शोभा योगीले बताईन ।
अस्पतालमा औषधीको अभाव, विशेषज्ञ चिकित्सक पर्याप्त नहुनु, चिकित्सक तथा नर्सलाई पर्याप्त तालिम नदिइनु, सुविधासम्पन्न प्रसूतिगृह नहुनुलगायत कारणले सुत्केरीको अकालमै मृत्यु हुने गरेको जनस्वास्थ्यविद् डा. शरद वन्त बताउछन । समुदायस्तरमा सुरक्षित प्रसूति सेवाबारे आवश्यक जनचेतना नभएकाले पनि जटिल अवस्था आएपछि मात्र अस्पताल पु¥याइँदा सुत्केरीको ज्यान जाने गरेको उनको भनाइ छ तर गर्भवती तथा सुत्केरीका आफन्तले भने अस्पतालको लापर्बाहीले सुत्केरीको ज्यान गएको आरोप लगाउने गरेका छन् ।











