बाँके: राप्ती सोनारी २ खोरियाको हरियाली बस्ती बीच बिहान सबेरै घन्टीसँगै दूध दुहुने व्यस्तताले दिन सुरु हुन्छ। परम्परागत कृषि र सिमित पशुपालनमा निर्भर यस गाउँमा अहिले डेढ करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा आएको जननी पशुपन्छी पालन फर्मले ग्रामीण अर्थतन्त्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ।
जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित यो फर्मले आधुनिक प्रविधि, व्यवस्थित गोठ र व्यावसायिक सोचलाई आधार बनाउँदै दूध उत्पादनलाई नियमित आम्दानीको स्रोत बनाइरहेको छ। करिब दुई बिघा जग्गामा फैलिएको फर्ममा हाल होलिस्टिन, फ्रिजन र जर्सी जातका सातवटा गाई, हरियाना जातका दुईवटा भैसी, एकवटा साँढे तथा करिब १९ १९ वटा कोरेली बाच्छाबाछी र पारापारी छन्।
फर्मबाट करिब ८० लिटर दूध उत्पादन भइरहेको छ। उत्पादित दुधमध्ये अधिकांश भाग कचनापुर, साना किसान कृषि सहकारी संस्था डेरीमा खपत हुने गरेको छ भने बाँकी दुध स्थानीय गाउँघरसँगै कोहलपुर, नेपालगञ्ज, अगैया, शमशेरगञ्ज लगायतका सहरी तथा बजारी क्षेत्रमा दुध आपूर्ति हुने भएकाले बजार विस्तार क्रमश: बढ्दै गएको फर्मले जनाएको छ।
व्यवस्थापक गणेशबहादुर खत्रीका अनुसार अहिलेको उत्पादनले बजारमा राम्रो स्थान बनाइरहेको छ र भविष्यमा आफ्नै डेरी सञ्चालन गर्ने लक्ष्य रहेको छ।” अहिले हाम्रो दूध कचनापुर सहकारी डेरीमा जान्छ, बाँकी स्थानीय बजारमा बिक्री हुन्छ उनले भने।” माग बढ्दै गएको छ ” त्यसैले भविष्यमा आफ्नै डेरी सञ्चालन गर्ने योजना बनाएका छौं।” फर्मले आफ्नै जमिनमा घाँस उत्पादन गर्दै आएको छ।” जसले उत्पादन लागत घटाउन ठूलो सहयोग गरेको छ्।
पशु आहरामा आत्मनिर्भरता बढेसँगै व्यवसायीलाई दिगो बनाउने आधार पनि मजबुत भएको व्यवस्थापक खत्री बताउँछन्। हाल फर्ममा सातजना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्। ग्रामीण क्षेत्रमा सीमित रोजगारीका अवसरबीच यो फर्मले युवाहरूलाई गाउँमै रोक्न सहयोग गरेको स्थानीयवासीहरूको भनाइ छ।
दैनिक कामकाज पशु स्याहार, गोठ व्यवस्थापन र दूध सङ्कलनमा उनीहरू संलग्न छन्। राप्ती सोनारी गाउँपालिका पशुपालनका लागि उपयुक्त क्षेत्र मानिन्छ।











