बालापुरमा दिनदहाडै महिलामाथि आक्रमण, करिब ४ लाख बराबरको सुन लुट – Buletnews
बालापुरमा दिनदहाडै महिलामाथि आक्रमण, करिब ४ लाख बराबरको सुन लुट

एक्लै हिँडिरहेकी वृद्धामाथि जंगल क्षेत्रमा कुटपिट, गहना लुटेर फरार; स्थानीयमा त्रास, सुरक्षामा कडाइको माग

  • बुलेट न्युज

बाँके, राप्ती सोनारी:बाँकेको राप्ती सोनारी गाउँपालिका–८ बालापुर क्षेत्रमा दिनदहाडै एक वृद्ध महिलामाथि आक्रमण गरी सुन लुटिएको घटना सार्वजनिक भएको छ। स्थानीय सुरक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै यस घटनाले सर्वसाधारणमा त्रास फैलाएको छ।
प्राप्त जानकारी अनुसार, बालापुरकी करिब ७० वर्षीया ओहिली खत्री शनिबार बिहान करिब ११ बजेतिर बालापुर गाउँबाट शमशेरगञ्जतर्फ जाँदै थिइन्। सोही क्रममा बालापुरको जंगल क्षेत्र पार गर्ने क्रममा एक अज्ञात व्यक्तिले उनलाई एक्लै भएको मौका छोपेर आक्रमण गरेको बताइएको छ।

आक्रमणकारीले वृद्धामाथि कुटपिट गर्दै कानमा लगाएको करिब एक तोला सुनका गहना तथा तिलहरी लुटेर फरार भएको प्रहरीले जनाएको छ। लुटिएको सुनको मूल्य करिब ४ लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ।

घटनापछि स्थानीयवासीको सहयोगमा घाइते महिलालाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।

शमशेरगञ्ज प्रहरी बिटका इन्चार्जका अनुसार, घटनामा संलग्न आशंकित व्यक्तिको साइकल घटनास्थलबाट बरामद गरिएको छ। सोही आधारमा अनुसन्धान अगाडि बढाइएको र फरार अभियुक्तको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

पछिल्लो समय राप्ती सोनारी क्षेत्रमा यस्ता चोरी तथा लुटपाटका घटनाहरू बढ्दै गएको भन्दै स्थानीयवासी चिन्तित बनेका छन्। दिनदहाडै हुने यस्ता घटनाले सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ। स्थानीयले सुरक्षा व्यवस्था थप कडा बनाउन र नियमित गस्ती बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्