बाँके: कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार कोहलपुर नगरभित्र विभिन्न वडामा रहेका सार्वजनिक तथा निजी जग्गामा अवैध रूपमा घरटहरा तथा संरचना निर्माण गरिएको पाइएकाले तत्काल हटाउन निर्देशन दिइएको हो।
सूचनामा उल्लेख भएअनुसार वडा नं. १ देखि १५ सम्मका विभिन्न क्षेत्र, विशेषगरी वडा नं. ११ अन्तर्गत नगर विकास समितिको मातहतमा रहेको क्रिकेट मैदान आसपासका अतिक्रमित क्षेत्रहरूमा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउनुपर्नेछ।

नगरपालिकाले सम्बन्धित व्यक्तिहरूलाई स्वयं १० दिनभित्र आफ्नो संरचना हटाई जग्गा खाली गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाएमा २०८३ बैशाख २५ गते बिहान १०:०० बजेदेखि नगरपालिकाले डोजर प्रयोग गरी संरचना हटाउने चेतावनी दिएको छ।
यस क्रममा लाग्ने सम्पूर्ण खर्च अतिक्रमणकारीबाट असुल गरिने र प्रचलित कानुनअनुसार कारबाहीसमेत गरिने सूचनामा उल्लेख गरिएको छ। नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण तथा अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राख्दै यस्तो कदम चालिएको स्पष्ट पारेको छ।











