कर्णाली प्रदेश अस्पतालको छतमा हेलिप्याड निर्माण – Buletnews
कर्णाली प्रदेश अस्पतालको छतमा हेलिप्याड निर्माण

हेलिप्याड निर्माणसँगै दुर्गमबाट आएका बिरामीको उपचार सहज हुने विश्वास

  • बुलेट न्युज

सुर्खेत: सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको छतमा हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै दुर्गमबाट आएका बिरामीको उपचार सहज हुने विश्वास लिइएको छ । नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेड क्वाटर सुर्खेतको समन्वयमा शुक्रबार प्राविधिक जाँच तथा परीक्षण उडान गरिएको छ ।

अस्पतालका सूचना अधिकारी उपसचिव अनिता ज्ञवालीले आकस्मिक स्वास्थ्य सेवालाई अझ छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको हेलिप्याडले अब गम्भीर तथा आकस्मिक अवस्थाका बिरामीको शीघ्र उद्धार तथा समयमै उपचारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सो भवनको निर्माण व्यवसायीले हस्तान्तरण गरेपछि हेलिप्याड सञ्चालनमा ल्याइने जानकारी उनले दिए।

यसअघि दुर्गम जिल्लाबाट हेलिकोप्टरबाट थप उपचारका लागि प्रदेश अस्पताल ल्याउनुपर्ने बिरामीलाई सुर्खेत विमानस्थल हुँदै एम्बुलेन्सबाट ल्याउनुपर्ने अवस्था थियो ।

सुर्खेतस्थित प्रदेश अस्पतालमा विशेष गरी दुर्गम हिमाली जिल्लाबाट सुत्केरी तथा गर्भवतीलाई हेलिकोप्टरबाट थप उपचारका लागि ल्याउने गरिन्छ । मासिक करिब चाररपाँच जनाको उद्धार हुने गरेको बताइन्छ ।

अस्पतालमा दैनिक चाप बढ्दै

प्रदेश अस्पतालमा यतिबेला दैनिक सेवाग्राहीको चाप बढ्दै गएको छ । आइतबार पनि सार्वजनिक बिदा भएपछि अस्पतालमा सेवाग्राहीको सङ्ख्या बढ्दो छ । अस्पतालका सूचना अधिकारी ज्ञवाली सोमबारदेखि शुक्रबारसम्म ओपिडीमा सेवाग्राहीको चाप बढिरहेको बताउछन ।

उनले आइतबार बिदा थपिए पनि सेवाग्राहीलाई समस्या नपर्ने गरी सेवा दिइरहेको भन्दै दैनिक दुई हजारको हाराहारीमा सेवा दिइने जानकारी दिए ।  बहिरङ्ग, अन्तरङ्ग, फार्मेसी, आकस्मिक, शल्यक्रिया, ल्याब, प्रसूति सेवा, एक्सरे, सिटी स्क्यान, एमआरई र भिडियो एक्सरे सेवा गरी दैनिक दुई हजारलाई सेवा दिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्