वर्षाका कारण कर्णाली–नाइजेरिया खेल स्थगित, भोलि बिहान पुनः सञ्चालन हुने – Buletnews
वर्षाका कारण कर्णाली–नाइजेरिया खेल स्थगित, भोलि बिहान पुनः सञ्चालन हुने

प्रतियोगितामा विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने

  • बुलेट न्युज

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको “कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल वर्षाका कारण स्थगित भएको छ। जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बीच भइरहेको खेल अविरल वर्षाका कारण रोक्नुपरेको हो।

खेल सुरु भएको ३७ मिनेटमै वर्षा भएपछि आयोजकले खेल स्थगित गर्ने निर्णय गरेको जनाएको छ। स्थगनअघि पहिलो हाफमा एक गोल गर्दै नाइजेरियाको टोलीले अग्रता बनाएको थियो। उक्त खेल भोलि बिहान ८ बजे पुनः सञ्चालन गरिने प्रतियोगिता संयोजक कर्णबहादुर बस्नेतले जानकारी दिएका छन्।

बैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

खेलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित फाइनलमा पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइनेछ। साथै स्थानीय होमस्टेमा मौलिक खानपान र बसोबासको अनुभवसमेत उपलब्ध गराइने योजना रहेको छ।

प्रतियोगितामा ए डिभिजन लिग मान्यता प्राप्त ८ वटा टोलीको सहभागिता रहेको छ। सहभागी टोलीहरूमा आयोजक रेसिङ सहारा क्लब (कोहलपुर), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टोली नेपाल पुलिस क्लब रहेका छन्।

प्रतिक्रिया दिनुहोस्