बाँके: नेपालमा पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभावका कारण आज देशका विभिन्न भागमा मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेषगरी पाँचवटा प्रदेशमा चट्याङसहित मध्यम वर्षा हुने सङ्केत देखिएको हो।
अहिले कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा पनि वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात र तराईका बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने सम्भावना रहेको छ।
आज राति पनि मौसम पूर्णतया सफा हुने देखिँदैन। कोशी प्रदेशका केही स्थानहरू तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना कायमै रहनेछ। बाँकी प्रदेशका हिमाली भेगमा एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
हाल नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा न्यून चापीय क्षेत्र विकसित भएकाले मौसममा उतारचढाव आएको हो। वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।











