कोहलपुर नगर विकास समितिको अतिक्रमित जग्गामा ७५१ घरधुरीका घरटहरा – Buletnews
कोहलपुर नगर विकास समितिको अतिक्रमित जग्गामा ७५१ घरधुरीका घरटहरा

उक्त क्षेत्रमा ४१६ अव्यवस्थित बसोवासी, १७२ भूमिहीन दलित र १६३ भूमिहीन सुकुमवासी गरी ७५१ घरधुरी बसोवास गर्दै

  • बुलेट न्युज

बाँके: बाँकेको कोहलपुर नगरपालिका–११ स्थित नगर विकास समितिको अतिक्रमित जग्गामा ७५१ घरधुरीका घरटहरा रहेको पाइएको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर नगर विकास समितिको कोहलपुर–३ -ख) अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल -क्रिकेट मैदान आसपास)मा अतिक्रमण गरी निर्माण गरिएका घरटहराको व्यक्तिगत लगत सङ्कलनका क्रममा उक्त तथ्य फेला परेको हो। उनका अनुसार उक्त क्षेत्रमा ४१६ अव्यवस्थित बसोवासी, १७२ भूमिहीन दलित र १६३ भूमिहीन सुकुमवासी गरी ७५१ घरधुरी बसोवास गर्दै आएका छन्।

सम्बन्धित निकायसँग समन्वय गरी गरिएको प्रारम्भिक अध्ययनमा भूमिहीन दलिततर्फ ११ जना र भूमिहीन सुकुमवासीतर्फ एक जनाको अन्य जिल्लामा समेत जग्गाजमिन रहेको देखिएको नगर प्रमुख आचार्यले जानकारी दिए। एउटै परिवारका सदस्यले फरक–फरक निवेदन दिएका कारण वास्तविक घरधुरी सङ्ख्या ७५१ नभई करिब ४०० आसपास हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनको भनाइ छ।

बस्ती विकास तथा बसोवासका क्रममा केही बिचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, जग्गा किनबेच गराउने तथा आर्थिक लाभ लिने गतिविधिबारे उजुरी प्राप्त भएकाले सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको उनले बताए।

नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा कानुनी प्रक्रियाबिना कुनै व्यक्ति वा संस्थालाई हस्तान्तरण वा बिक्री गर्न नमिल्ने स्पष्ट कानुनी व्यवस्था रहेको भन्दै उनले अवैध रूपमा घरटहरा तथा जग्गा कारोबार गर्नेहरूमाथि कानुनी कारबाही अघि बढाइने उल्लेख गरे।

२०८० चैत ५ गतेको बोर्ड बैठकको निर्णय अनुसार स्वघोषणासहित निवेदन आह्वान गरी लगत सङ्कलन गरिएको र प्राप्त विवरण सुरक्षित राखिएको नगरपालिकाले जनाएको छ।वास्तविक भूमिहीन तथा सुकुमवासीको व्यवस्थापनका लागि वैकल्पिक स्थानको पहिचान तथा छलफल भइरहेको र आवश्यक निर्णय छिट्टै सार्वजनिक गरिने नगर प्रमुख आचार्यले जानकारी दिए।

नगर विकास समितिको जग्गामा बसोवास गर्ने व्यक्तिहरूलाई भ्रम, दुरुपयोग वा राजनीतिक स्वार्थको माध्यम नबनाउन आग्रह गर्दै उहाँले वास्तविक भूमिहीन र सुकुमवासीको उचित व्यवस्थापन सुनिश्चित गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए। वैशाख १६ गते नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न १० दिने अल्टिमेटम दिएको थियो।

सूचनामा आगामी वैशाख २५ गते साँझ ७ बजेसम्म घरटहरा स्वयं हटाउन आग्रह गरिएको छ। अन्यथा वैशाख २६ गते बिहान ६ बजेदेखि नगरपालिकाले कानुनबमोजिम संरचना हटाउने जनाएको थियो। नगरपालिकाको निर्णयविरुद्ध भूमिहीन, अव्यवस्थित बसोवासी तथा सुकुमवासीहरूले मङ्गलबार विरोध प्रदर्शन गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) कोहलपुर नगर समितिले पनि वैकल्पिक व्यवस्था गरेर मात्र अतिक्रमित जग्गा खाली गराउनुपर्ने माग गर्दै नगर प्रमुखको ध्यानाकर्षण गराएको थियो।

 

प्रतिक्रिया दिनुहोस्