कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न रोमाञ्चक खेलमा रोयल फुटबल क्लब (कर्णाली) लाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै पुलिसले उपाधि नजिकको यात्रा तय गरेको हो।
खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए। निर्धारित ९० मिनेटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।

टाइब्रेकरमा नेपाल पुलिस क्लबका कप्तान राम वगाले, सञ्जीव लामा, हेमन्त श्रेष्ठ, सुजन मगर र अनिल टमाटाले गोल गर्दै टोलीलाई जित दिलाए। रोयल फुटबल क्लबका करण शाही, दिवस बिसी र विक्रम अलीले मात्र गोल गर्न सफल भए। कर्णालीका कप्तान सुदन विकको पहिलो प्रहार नै गोलपोस्ट बाहिरिएपछि टोली दबाबमा परेको थियो।
खेलभर उत्कृष्ट प्रदर्शन गरेका गणेश पुन मगर ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

अब वैशाख २६ गते हुने फाइनल खेलमा आयोजक रेसिङ साहारा क्लब र नेपाल पुलिस क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ तथा उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।










