कोहलपुर, बाँके: कोहलपुर नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारका लागि होल्डिङ सेन्टर व्यवस्थापन गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको कार्यालयले बिहीबार सूचना जारी गर्दै वडा नं. ११ को नगर विकास समितिको मातहत रहेको क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र खाली गराइएपछि प्रभावित परिवारलाई अस्थायी व्यवस्थापन गरिने जनाएको हो।
नगरपालिकाका अनुसार मिति २०८३ वैशाख १६ गते प्रकाशित सूचनाअनुसार अतिक्रमित क्षेत्र खाली गर्ने कार्य सुरु गरिएको थियो। सोही क्रममा त्यहाँ बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारलाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउन विभिन्न स्थानलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिने भएको हो।

नगरपालिकाले वडा नं. २ देखि १४ सम्मका विभिन्न सामुदायिक भवन, खाली सटर तथा नगर विकास समितिका भवनहरूलाई होल्डिङ सेन्टरका रूपमा तोकेको छ। नयाँ बसपार्क टर्मिनल भवन, दिपशिखा आधारभूत विद्यालय नजिकको भवन, बाल अस्पतालछेउको सटर, दलित संग्रहालय भवन, मैटहवा र गोहवाका सामुदायिक भवन लगायत १६ स्थानलाई अस्थायी आवास व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको सूचनामा उल्लेख छ।
त्यस्तै, २० भन्दा बढी परिवारको आवश्यकता परेमा टेन्ट माग गरी थप होल्डिङ सेन्टरको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ। सोकालागी आवास तथा खाद्यान्न व्यवस्थापन उपसमिति संयोजक नरेश बान्तवा राई तथा नगर प्रहरी प्रमुख वीर बहादुर थापासँग सम्पर्क गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ।











