निःशुल्क माटो परिक्षणबाट कोहलपुर क्षेत्रका किसान लाभान्वित – Buletnews
निःशुल्क माटो परिक्षणबाट कोहलपुर क्षेत्रका किसान लाभान्वित

माटो परीक्षण किसानहरुका लागि खेतीपातीमा उत्पादकत्व बढाउन तथा लागत घटाउन अत्यन्तै प्रभावकारी हुने: शाखा प्रमुख नेपाली

  • बुलेट न्युज

कोहलपुर,बाँके:बाँकेको कोहलपुर नगरपालिकाको कृषि विकास शाखाले किसानहरुका माटोको निःशुल्क परीक्षण गरेको छ । निःशुल्क माटो परीक्षणबाट सयभन्दा बढी किसान लाभान्वित बनेका छन् । दुई दिनसम्म कोहलपुर नगरपालिका परिसरमा सञ्चालन गरिएको निःशुल्क माटो परीक्षण शिविरबाट एक सय २५ किसान लाभान्वित बनेका हुन् ।

कोहलपुर नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक यज्ञबहादुर रोकायले दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क माटो परीक्षण शिविरबाट कोहलपुरका १५ वटै वडाका १२५ किसान लाभान्वित भएको वताउँदै किसानहरुले विभिन्न समस्या भएका १२५ वटा माटोको नमुना परीक्षण गर्नका लागि शिविरमा लिएर आएको जनाएका छन ।

उनका अनुसार माटो तथा मल परीक्षण प्रयोगशाला खजुराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । परीक्षण गर्न ल्याइएका माटोका नमुनाहरु प्रयोगशालामा पठाइएको र १२ दिनभित्र नमुनाको परीक्षण रिपोर्ट आएपछि सोहीअनुसार किसानलाई जानकारी दिइने उनले उल्लेख गरे ।

माटोको नमुना परीक्षणपश्चात् आएको रिपोर्टअनुसार किसानहरुलाई माटोको अवस्थाका बारेमा जानकारी प्रदान गरिने, सोहीअनुसार मलजल तथा बाली लगाउनका लागि सल्लाह सुझाव दिइने उनको भनाइ छ ।

माटो परीक्षण प्रयोगशाला बाँकेमै भए पनि अधिकांश किसानहरु यसको जानकारी अभावका कारण माटो परीक्षण नगराउने गरेका पाइएकाले शिविर प्रचारप्रसार र सचेतनाका लागि पनि महत्वपूर्ण रहेको रोकायको भनाई छ ।

कृषि विकास शाखा प्रमुख कल्पना नेपालीले माटो परीक्षण किसानहरुका लागि खेतीपातीमा उत्पादकत्व बढाउन तथा लागत घटाउन अत्यन्तै प्रभावकारी हुने र माटोको गुणस्तर थाहा पाएर सोहीअनुसार खेती गर्दा किसानहरुलाई फाइदाजनक रहने जिकिर गरेकी छिन ।

माटो परीक्षणबाट माटोमा कुन पोषक तत्वको कमी छ भन्ने थाहा भई उपयुक्त मलखाद हाल्न सकिने र बाली उत्पादनमा वृद्धि हुने, माटो परीक्षणले अम्लीय, क्षारीय वा तटस्थपना जानकारी हुने हुँदा माटोको अवस्था बुझेर सुधारका उपायहरु अपनाएर माटोलाई दीर्घकालीन रुपमा उर्वरा राख्न सकिने हुँदा किसानहरु लाभान्वित हुने नेपालीको भनाई छ ।

अझै पनि किसानहरु परम्परागत खेलीमा आश्रित रहेका तथा माटो परीक्षण गराउनुपर्छ भन्ने चेतनाको कमीले माटो परीक्षण नगराई खेती गरिरहेका हुँदा शिविरबाट माटो परीक्षण गराउनुपर्छ भन्ने सकारात्मक सन्देश पनि प्रवाह भएको नेपालीले भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्