शान्तीनगर स्थित कोहलपुर नगर विकासको जग्गा शान्तिपुर्णरुमा खाली, कबाडीलाई दशैं – Buletnews
शान्तीनगर स्थित कोहलपुर नगर विकासको जग्गा शान्तिपुर्णरुमा खाली, कबाडीलाई दशैं

नगरपालिकाको चेतावनीपछि स्वेच्छाले खाली हुँदै बस्ती, ब्यनस्थापनमा नगरपालिका तयारी अबस्थामा

  • बुलेट न्युज

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका–११ स्थित नगर विकास समितिको जग्गा कब्जा गरी बसोबास गर्दै आएका ७५१ घरधुरी सुकुम्बासीहरूले शान्तिपूर्ण रूपमा आफ्नो थातथलो खाली गर्न थालेका छन्। यो क्रम बिगत १० दिनदेखी आज सम्म जारी रहेको हाम्रा समाचारदाताले बताएका छन ।

कोहलपुर नगरपालिकाले यसअघि जारी गरेको सूचनाअनुसार २६ गतेभित्र कब्जा गरिएको क्षेत्र खाली गर्न निर्देशन दिएको थियो। तोकिएको समयभित्र स्थान खाली नगरे बल प्रयोग गरेर हटाइने चेतावनी स्थानीय सरकारले दिएको थियो। चेतावनी दिएको दशौँ दिनदेखि सुकुम्बासी भनिएका परिवारहरूले आफ्ना टहरा भत्काउँदै सामग्री अटो, ट्र्याक्टर तथा अन्य सवारीमार्फत नयाँ आश्रयस्थलतर्फ लैजान थालेका हुन्।

आज बिहान स्थलगत रिपोर्टिङका लागि पुगेका बुलेट न्युजका समाचारदाताका अनुसार सो क्षेत्रमा प्रहरी प्रशासनको प्रत्यक्ष उपस्थिति नभए पनि अधिकांश बसोबासी स्वयं टहरा हटाउने कार्यमा सक्रिय देखिएका थिए। टिन, काठ, बाँस, ढोका तथा अन्य प्रयोगयोग्य सामग्री व्यवस्थापन गर्न व्यस्त स्थानीयको भीड बिहानैदेखि देखिन्थ्यो।

त्यसैगरी, खाली गरिँदै गरेको क्षेत्रमा कबाड सामान खरिद गर्ने व्यापारीहरूको समेत उल्लेख्य भीड लागेको समाचारदाताले बताएका छन्। कतिपय परिवारले टहरा भत्काएपछि बाँकी रहेका फलाम, टिन र काठ बिक्री गरेर अन्यत्र बसोबासको तयारी गरिरहेका छन्।

यो क्षेत्र लामो समयदेखि अव्यवस्थित बसोबासको केन्द्रका रूपमा चिनिँदै आएको थियो। नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा वर्षौंदेखि अस्थायी टहरा निर्माण गरी सयौँ परिवार बस्दै आएका थिए। पछिल्लो समय कोहलपुर नगरपालिका ले सार्वजनिक तथा सरकारी जग्गा संरक्षण अभियानलाई तीव्र बनाउँदै अतिक्रमण हटाउने अभियान अघि बढाएको हो।

नगरपालिकाले यसअघि पटक–पटक सूचना जारी गर्दै स्वेच्छाले स्थान खाली गर्न आग्रह गरेको थियो। स्थानीय सरकारका अनुसार खाली गराइएको क्षेत्रको व्यवस्थापन, सडक विस्तार तथा दीर्घकालीन नगर विकास योजनाअन्तर्गत संरचना निर्माणको तयारी भइरहेको छ।

यद्यपि, विस्थापित परिवारहरूको पुनःस्थापनाको विषय भने अझै अन्योलमै रहेको स्थानीयहरूले बताएका छन्। धेरै परिवारले वैकल्पिक बसोबासको स्पष्ट व्यवस्था नभएको गुनासो गर्दै अस्थायी रूपमा आफन्तकहाँ वा भाडामा बस्ने तयारी गरिरहेका छन् भने स्थानिय सरकारले विभिन्न स्थानमा होल्डिन सेन्टर स्थापना गर्दै ब्यबस्थापन  गर्ने तयारी पूरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्