कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा सम्पन्न चौथो संस्करणको “कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताको उपाधि आयोजक टोली कोहलपुर रेसिङ साहारा क्लबले जितेको छ । शनिबार भएको रोमाञ्चक फाइनल खेलमा नेपाल पुलिस क्लबलाई सडेन डेथसम्म पुगेको ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै रेसिङ साहाराले उपाधिमाथि कब्जा जमाएको हो ।

कोहलपुर–२ स्थित खेलमैदानमा सम्पन्न फाइनल खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो । खेल सुरु भएको पाँचौँ मिनेटमै रेसिङ साहाराका चेतन चौधरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै नेपाल पुलिसका धिरेन्द्र शाहले उत्कृष्ट गोल फर्काउँदै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल ट्राइब्रेकरमा पुगेको थियो ।
ट्राइब्रेकरमा पनि दुवै टोली बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा रेसिङ साहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दीप केसी र सुजन मगरले गोल गर्न सफल भए । नेपाल पुलिसका राम वाजी, सञ्जीव लामा र हेमन्त श्रेष्ठले मात्रै गोल फर्काउन सकेपछि घरेलु टोली रेसिङ साहाराले ऐतिहासिक जित दर्ता गर्यो ।
प्रतियोगिताको विजेता बनेको रेसिङ साहारा क्लबले ट्रफी सहित नगद ८ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेतामा सीमित नेपाल पुलिस क्लबले ट्रफी सहित ४ लाख रुपैयाँ हात पारेको छ ।
फाइनल खेलका म्यान अफ द म्याच नेपाल पुलिस क्लबका सञ्जीव लामा घोषित भए । उनले ट्रफी सहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै रेसिङ साहाराका मुकुन्द घर्ती मगरले नगद ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीहरू
बेष्ट गोलकिपर : शत्रुधन चौधरी (नेपाल पुलिस क्लब) – रु. १० हजार
बेष्ट डिफेन्डर : चेतन चौधरी (कोहलपुर रेसिङ साहारा क्लब) – रु. १० हजार
बेष्ट मिडफिल्डर : राम वाजी (नेपाल पुलिस क्लब) – रु. १० हजार
बेष्ट फरवार्ड : आशिष थारु (नेपाल पुलिस क्लब) – रु. १० हजार
बेष्ट कोच : जनक केसी (कोहलपुर रेसिङ साहारा क्लब) – रु. १० हजार
राइजिङ प्लेयर अफ द टुर्नामेन्ट : लक्ष्मण राना मगर (कोहलपुर रेसिङ साहारा क्लब) – रु. १० हजार
विजेता तथा उपविजेता टोलीलाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य ले चेक, ट्रफी तथा मेडल वितरण गरेका थिए ।
बैशाख १९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल हेर्न मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यस वर्ष पहिलो पटक प्याराफिटको व्यवस्था गरिएकाले दर्शकहरूले व्यवस्थित रूपमा खेलको आनन्द लिएका थिए ।











