म्याग्दीः धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ। छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा चलचित्र ‘सारथी’को छायाङ्कन सुरु गरिएको हो।
सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दूरीमा जिल्लाको अन्तिम बस्तीका रूपमा रहेको गुर्जामा यसअघि विभिन्न म्युजिक भिडियोको छायाङ्कन गरिएको भए पनि चलचित्रको छायाङ्कन थालिएको भने पहिलो पटक हो। गुर्जा र चुरेन हिमाल अवस्थित गुर्जामा रहेको प्राकृतिक, सांस्कृतिक र परम्परागत जनजीवनको पाटोलाई समेत समेटेर चलचित्रका दृश्य खिच्न थालिएको छ। सामाजिक कथावस्तुमा आधारित सारथी चलचित्रको निर्माण टोली दुई सातादेखि गुर्जामै बसेर चलचित्र निर्माणका लागि कलाकारहरूको अभिनय छायाङ्कन गरिरहेको प्रमुख निर्माता तारा थापाले बताए।
फिल्म निर्माणका लागि करिब ६० जनाको समूह गुर्जा पुगेको छ। गुर्जाको मुख्य बस्ती, देउराली डाँडालगायत क्षेत्रमा दृश्य छायाङ्कनको काम भइरहेको छ। उत्तम प्रधान, निरुता सिंह, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसीलगायत नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारको अभिनय रहने यस चलचित्रमा गुर्जाकै कलाकार गिरी विश्वकर्मासहित गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायतका नयाँ कलाकारको पनि अभिनय रहने प्रमुख निर्माता थापाले बताए।











