बाँके: केही वर्षअघिसम्म उराठलाग्दो, सुनसान र उपयोगविहीन देखिने बाँकेको सिधनियाँघाटस्थित राप्ती नदीको बगर अहिले लटरम्म तरबुजाले ढाकिएको छ । तीन वर्षअघिदेखि भारतका विभिन्न स्थानबाट आएका किसानले श्रम र सिपको प्रयोग गरेर सो बगरमा तरबुजा उत्पादन गरी लाखौँ आम्दानी गर्न थालेका छन् ।
भारत उत्तरप्रदेशको बागपत जिल्लाका पाँच भाइ र तिनका आफन्त गरेर १० परिवारले तीन वर्षदेखि सिधनियाँघाटआसपास तरबुजा खेती सुरु गरेका थिए ।
नदीवारि डुडुवा गाउँपालिका कम्दीका स्थानीय राकेशकुमार मिश्रले सिँचाइ, बिउ, मल तथा दिनरातको श्रममार्फत गरिएको लगानीले बगरलाई हराभरा बनाएको बताए। हाल राप्ती बगरको ११० बिघा जमिनमा करिब ७० लाख रुपियाँ लगानी गरी तरबुजा खेती गरिएको भारत बागपतका किसान मोहम्मद बसिरले जानकारी दिए । उनले यस वर्ष सो क्षेत्रबाट करिब डेढ करोड रुपियाँ बराबरको कारोबार हुने अनुमान गरे । नेपालीले खेती नगरेर बाँझो छाडेको बगरमा आफूहरूले खेती गरिरहेको उनको भनाई छ ।
भारत बागपतका मोहम्मद बसिर, मोहम्मद सब्बिर, मोहम्मद युसुफ, मोहम्मद सफिक, मोहम्मद सइद, मोहम्मद समिम र उनीहरूका भिनाजु तथा अन्य आफन्त गरी १० परिवारले बगरको करिब १५० कच्चा बिघा र बगरसँगै जोडिएको करिब ८० बिघा निजी जग्गामा तरबुजा खेती गर्दै आएका छन् ।
भारतीय बजारबाट तरबुजा खरिद गरेर नेपालमा बिक्री गर्दै आएका व्यापारीले राप्ती बगरमा यसको उच्च सम्भावना रहेको सुझाव दिएपछि आफूहरूले नेपाल आएर खेती सुरु गरेको उनीहरूको भनाइ छ ।
भारतीय किसानले खेती सुरु गरेको देखेर अहिले धेरै नेपाली किसानले पनि बगरमा तरकारी, सखरखण्ड तथा तरबुजा उत्पादन सुरु गरिसकेका छन् । सो बगरमा अहिले डुडुवाको हल्कारापुर्वा र राप्ती सोनारीको फत्तेपुरका किसानले पनि तरकारी खेती गरिरहेको हल्कारापुर्वाका किसान बढैलाल यादवले बताए ।
खेतमै खरिदकर्ता
राप्ती नदीको बगरमा अहिले तरबुजा खरिद गर्नेको भिड लाग्ने गरेको छ । राप्ती पुलको किनारमा तरबुजाको रास लगाएर बसेका भारतीयसँग नेपालगन्जबाट गाडी लिएर खरिद गर्न जानेको लर्को लाग्ने गरेको छ भने हुलाकी सडक प्रयोगकर्ताले पनि गाडी रोकेर तरबुजा किनेर लैजाने गरेका छन् ।
नेपालगन्जबाट हुलाकी रोड हुँदै राप्ती सोनारी, नरैनापुर तथा दाङ, बुटवल, काठमाडौँ जाने यात्रु पनि राप्ती नदीको पुल पारी बगरमा बेच्न राखिएका तरबुजा लिएर जाने गरेको भारतीय किसान मोहम्मद सब्बिरले बताए।











