कोहलपुरको रानी सामुदायिक वन क्षेत्रमा अज्ञात पुरुषको शव फेला – Buletnews
कोहलपुरको रानी सामुदायिक वन क्षेत्रमा अज्ञात पुरुषको शव फेला

हालसम्म मृतकका आफन्त सम्पर्कमा नआएकाले शवको पहिचान गर्न कठिन

  • बुलेट न्युज

कोहलपुर,बाँके:  जिल्ला बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित आर्मी चेक प्वाइन्टदेखि करिब ३ किलोमिटर पूर्व रानी सामुदायिक वन क्षेत्रअन्तर्गत पूर्व–पश्चिम राजमार्ग छेउको नालामाथि एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आइतबार बिहान करिब ८:१० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले अन्दाजी ४० देखि ४२ वर्ष उमेरका देखिने पुरुष मृत अवस्थामा रहेको जनाएको छ ।

प्रहरीका अनुसार मृतकको हालसम्म नाम, थर तथा ठेगाना खुल्न सकेको छैन । मृतकले माथिल्लो शरीरमा पहेँलो रङको कालो धर्का भएको टिसर्ट तथा तल्लो शरीरमा निलो जिन्स पाइन्ट लगाएका छन् । साथै उनको हल्का दाह्री–जुँगा रहेको बताइएको छ ।

हालसम्म मृतकका आफन्त सम्पर्कमा नआएकाले शवको पहिचान गर्न सक्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फोटो सौजन्य: ईप्रका कोहलपुर

प्रतिक्रिया दिनुहोस्