बाँके: द्वन्द्वकालमा बन्द गरिएका बाँकेका सात वटा छोटी भन्सार कार्यालय पुनःस्थापनाको माग गर्दै आएका जिल्लाका उद्योगी, व्यवसायीहरूले एउटा मात्रै छोटी भन्सार पुनःस्थापना गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाएका छन् । सशस्त्र द्वन्द्वअघि जिल्लाको सुइया बघौडाको कटकुइयाँ, नरैनापुर, भगवानपुर, खडैचा–होलिया, हिरमिनियाको भगोटना, साईगाउँ र साईगाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय सञ्चालनमा रहेका थिए ।
सरकारले केही दिनअघि बाँकेको नरैनापुर छोटी भन्सार मात्र पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले एउटा मात्रै छोटी भन्सारले तस्करी तथा अवैध आयात–निर्यात नियन्त्रण गर्न नसक्ने बताए ।
उनले राजस्व सङ्कलन वृद्धि गर्न र अवैध आयात–निर्यात नियन्त्रण गर्न विगतमा सञ्चालनमा रहेका सबै छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउनुपर्ने माग गरे ।मुख्य नाकामा सय रुपियाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लिन थालिएपछि अन्य नाकाबाट अवैध आयात–निर्यात बढ्ने सम्भावना रहेको भन्दै उनले सबै छोटी भन्सार पुनःस्थापना आवश्यक रहेको बताए ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अर्का पूर्व अध्यक्ष अब्दुल वाहिद मन्सुरीले पनि एउटा मात्रै छोटी भन्सारले समस्या समाधान नहुने बताउँदै अन्य छोटी भन्सार सञ्चालन तथा नयाँ रणनीति आवश्यक रहेको धारणा राखे । उनले मुख्य नाकामा कडाइ गर्दा अन्य स्थानबाट चोरी पैठारी बढ्ने सम्भावना भएकाले थप छोटी भन्सार आवश्यक रहेको स्पष्ट पारे ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले छोटी भन्सार पुनः सञ्चालन हुनु स्थानीय व्यवसायीका लागि उपलब्धिमूलक भए पनि एउटा मात्रै कार्यालयले राजस्व चुहावट रोक्न नसक्ने बताए । जिल्लाका अधिकांश उद्योगी–व्यवसायीले हालको कडाइ कायम राख्दै थप नाकामा पनि भन्सार सञ्चालन गर्न सके सीमावर्ती व्यापार व्यवस्थित हुने प्रतिक्रिया दिएका छन् ।
यसैबिच, बाँकेको नरैनापुर छोटी भन्सार पुनः सञ्चालनका लागि तयारी भइरहेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जर्नादन पौडेलले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार निर्माण तथा कर्मचारी व्यवस्थापनको काम भइरहेको छ । भारतसँग बाँकेको ६५ किलोमिटर खुला सीमा रहेको छ । साइड नाकाहरूमा नेपाली सुरक्षाकर्मीको उपस्थिति भए पनि भन्सार छली हुँदै आएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । उनले नरैनापुरमा छोटी भन्सार स्थापना भएपछि केही हदसम्म अवैध आयात–निर्यात नियन्त्रण हुने विश्वास व्यक्त गरे ।











