जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनाैट प्रतियोगितामा लगातार पाँचौँ पटक कोहलपुर बिजेता – Buletnews
२२ स्वर्ण, ९ रजत र १३ कास्य पदक प्राप्त
जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनाैट प्रतियोगितामा लगातार पाँचौँ पटक कोहलपुर बिजेता

पालिकाले गरेको लगानीको प्रतिफल खेलाडीहरूले मैदानमा देखाए : मेयर आचार्य

  • बुलेट न्युज

काेहलपुर,बाँके: काेहलपुर नगरपालिकाले बाँकेकाे खेलकुदमा नयाँ इतिहास रचेको छ । १७औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनाैट प्रतियोगितामा लगातार पाँचौँ पटक उपाधि जित्दै कोहलपुरले ईतिहास रचेकाे हाे ।

यस वर्षको प्रतियोगितामा कोहलपुर नगरपालिकाले २२ स्वर्ण, ९ रजत र १३ कास्य पदक हात पार्दै प्रथम स्थान हासिल गरेकाे हाे । लगातार पाँच वर्षदेखि उपाधि आफ्नो नाममा पार्दै आएको कोहलपुरले यसपटक पनि प्रतिस्पर्धी पालिकामाथि स्पष्ट दबाब कायम राखेको देखियो ।

जिल्ला खेलकुद विकास समितिका प्रमुख सन्तोष कुमार श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले १५ स्वर्ण, ११ रजत र १९ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने ८ स्वर्ण, ४ रजत र ९ कास्य पदक सहित खजुरा गाउँपालिका तेस्रो स्थानमा रहेकाे छ ।

गत वर्ष सम्पन्न १६औँ संस्करणमा पनि कोहलपुरले १८ स्वर्णसहित उपाधि जितेको थियो । यसपटक स्वर्ण संख्या अझ बढ्दै गएकोले कोहलपुरको खेल संरचना, प्रशिक्षण प्रणाली र खेलाडी उत्पादन क्षमता झन् मजबुत बन्दै गएको संकेत देखिएको छ ।

उपाधिपछि प्रतिक्रिया दिँदै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले यो सफलता सामूहिक मेहनतको परिणाम भएको बताए ।

उनले खेलाडी, प्रशिक्षक, खेलकुद विकास समिति, जनप्रतिनिधि तथा कर्मचारी सबैलाई धन्यवाद दिँदै भने,

“पालिकाले गरेको लगानीको प्रतिफल खेलाडीहरूले मैदानमा देखाएका छन् । यस सफलताले आगामी दिनमा अझ ठूला योजना अघि बढाउन ऊर्जा दिएको छ ।”

उनले कोहलपुरलाई भविष्यमा “खेलकुद ग्राम” का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको पनि स्पष्ट पारे ।

त्यस्तै, कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले लगातार पाँच वर्षसम्म जिल्लाको सबैभन्दा ठूलो विद्यालय खेल प्रतियोगितामा उपाधि जित्नु सामान्य उपलब्धि नभएको बताए । उनका अनुसार अब कोहलपुरको लक्ष्य जिल्ला मात्र नभई प्रदेश र राष्ट्रिय स्तरमा पनि यही लय कायम राख्नु हो ।

प्रतिक्रिया दिनुहोस्