बाँके: बाख्रा चराउन जंगल गएको समयमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का ५ जना महिलाले लगाएको सुन लुटपाट गरेर निर्घात कुटपिट गरिएको छ । अज्ञात समुहले राप्ती सोनारी-३ बैशा र नवलपुर गाउँका ५५ वर्षीया बिसमति थारु, सोही ठाउँका ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मंगरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारुको सुनका गहना लुटपाट गरी घाइते बनाएको हो ।
घाइते महिलाका अनुसार नेपाली भाषा बोल्ने मधेसी मुलका ३र४ जनाको संख्यामा रहेको उक्त समुहले गाउँदेखी पुर्वतर्फ रहेको जंगलमा बाख्रा चराउन गएको समयमा शुक्रबार बिहान साढे १० बजेतिर आफुहरुले कान र नाकमा लगाएको सुन लुटपाट गरी निर्धात कुटपिट गरेको थियो । महिलाहरुले कान र नाकमा लगाएको डेढ तोलाभन्दा बढी सुन उक्त समुहले लुटेर लगेको स्थानीय बासिन्दाले बताएका छन् ।
उक्त घटनाका विषयमा स्थानीय बासिन्दाले जानकारी पाएपछि घाइते महिलाहरुको उद्धार गरी उपचारका लागि राप्ती सोनारी अस्पताल पुर्याएका थिए । अस्पतालले त्यहाँ सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगन्ज पठाएको छ । घाइते सबैको नेपालगन्जस्थित संजिवनी अस्पताल (नर्सिङ होम) मा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनामा संलग्न ब्यक्तीको खोजीका लागि सुरक्षाकर्मीसहित ठुलो संख्यामा स्थानीय बासिन्दा जंगलमा परिचालन भएका छन् । घाइते महिलाहरुको शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको स्थानीयको भनाई छ । घाइतेहरु मध्ये बिसमतिको दुबै हात र रामकलियाको दायाँ खुट्टा भाँचिएको स्थानीय बासिन्दाले बताएका छन् ।
घाइते महिलाका कान र नाक च्यातिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक पातलीले उक्त घटनामा संलग्न भएको आरोपमा ८ जना ब्यक्ती पक्राउ परेको जानकारी दिए । राप्ती सोनारी र नरैनापुरको जंगल क्षेत्रबाट उनीहरु पक्राउ परेको बताइएको छ ।











