काठमाडौँ: नयाँबानेश्वर क्षेत्रमा आन्दोलित युवाहरूले बन्दुक बोकेको देखिएको छ। तीनकुनेबाट बानेश्वरतिर आइरहेका आन्दोलनकारीसँग नेपाली सेना र सशस्त्र प्रहरीले चलाउने अटोमेटिक राइफल देखिएको हो । भिडमा देखिएका ती युवकले हातमा बोकेको बन्दुक तेर्साउँदै नारा जुलुस गरिरहेका छन् ।
अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ । प्रदर्शनकारीले बानेश्वरस्थित यातायात व्यवस्था विभागको कार्यालय जलाइसकेका छन् । उनीहरू अहिले संसद् भवन परिसरमा पस्ने कोसिसमा छन् ।
पश्चिम गेटबाट सिंहदरबार छिरे प्रदर्शनकारी
जेन-जी आन्दोलनको दोस्रो दिन मङ्गलबार प्रदर्शनकारीहरू मुलुकको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबार प्रवेश गरेका छन् । सिंहदरबारको पश्चिम गेटबाट प्रदर्शनकारी भित्र पसेका हुन् । गेटमा आक्रमण गर्दै प्रदर्शनकारीहरू सिंहदरबारभित्र छिरेको कर्मचारीहरूले बताएका छन् ।
जेन-जी प्रदर्शनका क्रममा सोमबार सरकारले दमन गर्दा १९ प्रदर्शनकारीको ज्यान गएको छ, सयौँ घाइते छन् । मङ्गलबार भइरहेको आन्दोलन नियन्त्रणबाहिर छ । प्रदर्शनकारीहरूले नेताका घर, सरकारी कार्यालय र मन्त्री निवासमा समेत आगजनी गरेका छन् ।











