गर्मीका कारण बाँकेसहित पश्चिम नेपालका तराई क्षेत्रको जनजीवन प्रभावित – Buletnews
गर्मीका कारण बाँकेसहित पश्चिम नेपालका तराई क्षेत्रको जनजीवन प्रभावित

शरीरमा पानीको कमी हुन नदिन पटक पटक पानी, जुस वा अन्य झोल पदार्थ सेवन गर्न सुझाव

  • बुलेट न्युज

बाँके: गत एक सातादेखि अत्यधिक तातो हावा ‘लु’ चलेर एक्कासि बढेको गर्मीका कारण बाँकेसहित पश्चिम नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । नेपालगन्ज र आसपासका क्षेत्रमा केही दिनयता ‘लु’ चल्नुका साथै तापक्रम निरन्तर बढ्दै गएपछि सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।

बिहानैदेखि घाम चर्किएपछि दिनभरि शरीर पोल्ने तातो हावा चल्ने गरेका कारण दिउँसोको समयमा बजार तथा ग्रामीण क्षेत्र सुनसान जस्तै बन्न थालेका छन् भने सर्वसाधारणको हिँड्डुलसमेत घट्दै गएको छ ।

नेपालगन्ज नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले हाल आएर एक्कासि बढेको गर्मी र ‘लु’ ले स्थानीयको जनजीवन प्रभावित भएको बताए । उनले अहिले अत्यधिक गर्मीका कारण बिहान र साँझबाहेक बाहिर निस्कनै कठिन भएको जनाउँदै दिनको समयमा घरबाहिर निस्कनै नसक्ने अवस्था रहेको जनाए। नेपालगन्ज उपमहानगरपालिका–११ का वडाध्यक्ष नन्दकिशोर कश्यपले गर्मीका कारण दिउँसोको समयमा सेवाग्राही पनि निकै कम आउन थालेको सुनाए ।

अत्यधिक गर्मीका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने कामदार र मजदुर बढी प्रभावित बनेका छन् । अटोरिक्सा र ठेलाचालकले गर्मीका कारण काम गर्न असहज भएको बताएका छन् । नेपालगन्ज–११ का अटोरिक्साचालक नन्कु शेषले अत्यधिक तापका कारण बिहान र बेलुका बाहेक घरबाट अटो निकाल्न डर लाग्ने गरेको बताउँदै दिउँसो सडकमा सवारीसमेत नभेटिने गरेको बताए ।

उनका अनुसार अहिले बजारमा यात्रु निकै कम भेटिने गर्दा अटोरिक्सा चलाउन समस्या भएको छ । अन्य समयमा व्यस्त रहने बजारका सडक र चोकमा अटोरिक्साको उपस्थितिसमेत अहिले निकै पातलो देखिएको छ । यसैबिच मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आगामी केही दिनसम्म तातो लहर चल्ने जनाएको छ । लुम्बिनी प्रदेशको बाँके, बर्दिया, कपिलवस्तु र रूपन्देहीलगायतका जिल्ला गर्मीबाट अत्यधिक प्रभावित हुनेमा पर्दछन् ।

तातो हावाका कारण गर्मी बढ्दै जाँदा चिकित्सकले अत्यधिक गर्मीबाट बच्न दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुती कपडा प्रयोग गर्न सुझाव दिएका छन् । भेरी अस्पतालका सूचना अधिकारी वरिष्ठ चिकित्सक डा. सङ्केतकुमार रिसालले शरीरमा पानीको कमी हुन नदिन पटक पटक पानी, जुस वा अन्य झोल पदार्थ सेवन गर्न सुझाव दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्