कोहलपुर,बाँके: बाँकेको कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालय अगाडि सामाजिक अभियन्ता भूम भण्डारीले विद्यार्थी सुरक्षासँग सम्बन्धित विभिन्न समस्यालाई उठाउँदै ३० मिनेट धर्ना दिएका छन्। विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भए पनि प्रवेशद्वारमै ढकनबिनाको खुला नाली, जेब्रा क्रसिङको अभाव, जथाभावी पार्किङ तथा चर्को ध्वनिका कारण विद्यालयको वातावरण असुरक्षित र अव्यवस्थित बन्दै गएको भन्दै उनले विरोध जनाएका हुन्।
धर्नाका क्रममा उनले “विद्यालय शान्ति क्षेत्र हो भने प्रवेशद्वारमै खुला नाली किन?”, “विद्यार्थीको सुरक्षा कसको जिम्मेवारी हो?” जस्ता प्रश्न उठाएका थिए। विद्यालय आसपासको अव्यवस्थित वातावरणले विद्यार्थीको पढाइमा प्रत्यक्ष असर गरिरहेको उनको भनाइ थियो।
त्यसैगरी विद्यालय अगाडिको सडकमा तत्काल जेब्रा क्रसिङ र तारजालीको व्यवस्था गर्न, खुला नालीमा ढकन राख्न तथा सामुदायिक विद्यालयले लिने शुल्क सार्वजनिक गर्न समेत उनले माग गरेका छन्। “शिक्षा व्यापार होइन, अधिकार हो” भन्ने सन्देशसहित गरिएको धर्नाले स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि र सरोकारवालाको ध्यानाकर्षण गराएको छ।
भण्डारीले सुरक्षित विद्यालय र सभ्य समाज निर्माणका लागि अब समस्या देखाएर मात्रै नहुने, समाधानतर्फ सबै जिम्मेवार निकाय गम्भीर बन्नुपर्ने बताएका छन्।

विद्यालय परिसर नजिकै दैनिक सवारीसाधनको भीड, अव्यवस्थित पार्किङ र अनावश्यक होहल्ला बढ्दै जाँदा विद्यार्थीको सुरक्षामाथि जोखिम बढेको स्थानीयको पनि गुनासो छ। धर्नापछि सम्बन्धित निकायले आवश्यक पहल गर्ने अपेक्षा गरिएको छ।











