प्रमुख राजनीतिक दलका नेताहरूकहाँ के गर्दै छन् ? – Buletnews
प्रमुख राजनीतिक दलका नेताहरूकहाँ के गर्दै छन् ?

ओली, दाहाल, नेपाल, खनाल, सिंह, पौडेललगायत नेता शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा

  • बुलेट न्युज

काठमाडौ: प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका प्रमुख नेताहरू जेन–जी आन्दोलनका कारण आआफ्नो निवासबाट विस्थापित भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको सुरक्षा घेरामा बसेका छन् । सुरक्षा चुनौती भएपछि नेताहरूलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लगेका थिए । सुरक्षाको कारण उनीहरूलाई सेनाको ब्यारेकमा राखिएको छ ।

कामचलाउ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौंको शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा राखिएको सुरक्षा निकाय स्रोतले जानकारी दिएको छ । मंगलबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनलाई हेलिकोप्टरबाट शिवपुरी लगिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आगजनी भएपछि उनी सुरक्षाकर्मीको साथमा बाहिरिएका थिए । ‘केपी ओली शिवपुरी सेनाको ब्यारेकमा बस्नुभएको छ,’ ओलीको सुरक्षा स्रोतले भन्यो ।

त्यस्तै, पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि सेनाको तालिम केन्द्र शिवपुरीमा रहेको सुरक्षा स्रोतको भनाइ छ । उनले कांग्रेस, एमाले र एकीकृत समाजवादीसँग संवाद थालेका छन् । ‘अध्यक्षले काठमाडौं उपत्यकाकै सुरक्षित स्थानमा बसेर दलहरूसँग अनौपचारिक कुराकानी गर्नुभएको छ,’ माओवादीका एक नेताले भने, ‘छिट्टै पार्टीको धारणा आउँछ होला ।’

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाललाइ पनि शिवपुरीमै राखिएको छ । त्यस्तै ओली नेतृत्वको सरकारमा मन्त्री रहेका कांग्रेस नेता प्रकाशमान सिंह, एमाले उपाध्यक्ष विष्णु पौडेललगायत शिवपुरी सेनाको तालिम केन्द्रमा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजुुलाई उनकै निवास बुढानिलकण्ठबाट सेनाले उद्धार गरेर सुरक्षित स्थानतर्फ लगेको थियो । हाल उनको काठमाडौंकै अस्पतालमा उपचार भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । ‘उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ’ उनले भने । देउवा दम्पतीमाथि आन्दोलनकारीले हातपात गरेको सार्वजनिक भएको थियो ।

ओली नेतृत्वको सरकारमा रहेका मन्त्री र पूर्वमन्त्रीहरू महाराजगन्जस्थित भैरवनाथ गणलगायत ब्यारेकमा रहेको सुरक्षा स्रोतको जानकारी दिएको छ । यस्तै, माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवासमा तोडफोड भएपछि सुरक्षित स्थानतर्फ गएका छन् ।

दलका प्रमुख नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे अनौपचारिक संवाद सुरु भएको छ । उनीहरूले आआफ्नो सेल्टरबाट संवाद सुरु गरेको जनाएका छन् । उनीहरूले आगामी राजनीतिको शान्तिपूर्ण निकासबारे छलफल सुरु गरेको सम्बन्धित पार्टीका नेताहरूले बताएका छन् । उनीहरू जेन–जी आन्दोलनको माग संविधानको दायराभित्र रहेर खोज्नुपर्ने भन्दै संवादमा लागेका छन् ।

कांग्रेस र एमालेले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी संविधानप्रति प्रतिबद्ध दलहरूबीच छलफल आवश्यक भएको बताएका छन् । कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका साथै प्रवक्ता प्रकाशशरण महतले विज्ञप्ति जारी गरी संयम, संवाद र एकताको बाटोबाट निकास दिनुपर्ने बताएका छन् । प्रवक्ता महतले जेन–जी पुस्ताको भावनाबमोजिम संवैधानिक बाटोबाट निकास निकाल्नुपर्ने उल्लेख गरेका छन् । जेन–जी आन्दोलनपछि यो कांग्रेसको आधिकारिक विज्ञप्ति हो ।

‘कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियाको पुन:स्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ । कांग्रेस लोकतन्त्रका लागि सबैभन्दा भरपर्दा शक्ति हो भन्ने कुनै दुविधा छैन,’ उनले भनेका छन्, ‘पार्टीले लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध अन्य दलहरूसँग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुन:स्थापनाका लागि राष्ट्रपतिज्यूूको अगुवाइमा हुने संवाद र पहलमा कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ ।’

कांग्रेस महामन्त्रीद्वयले युवाको आकांक्षा र अपेक्षाअनुसार अघि बढ्न कांग्रेस तयार रहेको प्रतिबद्धता जनाएका छन् । ‘अब फेरिएको यस परिस्थितिमा युवाको आकांक्षा र अपेक्षाअनुसार जिम्मेवार राजनीति गर्ने दलका रूपमा कांग्रेसलाई जरैदेखि सम्पूर्ण रूपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं,’ उनीहरूले भनेका छन्, ‘हामी विश्वस्त छौं– आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकाले अबको कांग्रेस आम जनताको अपेक्षा, जेन–जी युवाको भावना र अन्य भिन्न पुस्ताको अभिमतसमेतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि आउनेछ ।’

एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले युवापुस्ताको माग संविधानसम्मत सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

‘प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ । सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकांक्षा लगायतका युवापुस्ताका मागलाई संविधानसम्मत रूपमा सम्बोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं’ बुधबार एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नु हुँदैन र समाधानका प्रत्येक प्रयासले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।’

माओवादी उपमहासचिव जनार्दन शर्माले वैधानिक बाटोबाट समाधान निकाल्न आग्रह गरेका छन् । ‘यतिबेला संविधानको रक्षा हुन सकेन भने सबै वैधानिकताहरूको अन्त्य भई थप अराजकता पैदा हुने र राष्ट्र र राष्ट्रियता झन् पछि झन् संकटमा पर्ने कुरालाई मध्यनजर गर्दै वैधानिक बाटोमार्फत समाधान निकाल्न लागिपरौं,’ उनले प्रेस विज्ञप्तिमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्