भन्सार छली गरि ल्याएका अबैध सामान बाँके प्रहरीको कब्जामा – Buletnews
भन्सार छली गरि ल्याएका अबैध सामान बाँके प्रहरीको कब्जामा

प्रहरीले लियो कुखुरा ढुवानीमा प्रयोग गरिएका चार वटा मोटरसाइकलसमेत नियन्त्रणमा

  • बुलेट न्युज

बाँके:  जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइएका चार लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपाल–भारत मुख्य नाकामा कडाइ गरिएसँगै अन्य सहायक बाटो र नाकाबाट तस्करी बढेको सूचनाका आधारमा खोजी गर्दा नेपालगन्जका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका लत्ताकपडा, माउन्टेन डिउ, कोकगायतका पेय पदार्थ, मोबाइलका पार्टपुर्जा, खाद्य तथा सुर्तीजन्य सामग्री बरामद गरिएको हो ।

प्रहरीले उक्त सामान ढुवानीमा प्रयोग गरिएको एउटा साइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ । बरामद सामानको अनुमानित मूल्य चार लाख ३५ हजार २१० रुपियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले बताए । उनले बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा पठाइएको पनि जानकारी दिएका छन ।

यस्तै, बाँकेको राप्ती सोनारी गाउँपालिका–४ कुमरस्थित सिङ्क सामुदायिक जङ्गलको बाटो प्रयोग गरी अवैध रूपमा ब्रोइलर कुखुरा ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाबाट खटिएको प्रहरी टोलीले २०० वटा अवैध र भारतबाट ल्याइएका ब्रोइलर कुखुरा बरामद गरेको हो । उक्त कुखुराको तौल करिब ६०० केजी हुने र अनुमानित मूल्य एक लाख ८० हजार रुपियाँ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कुखुरा ढुवानीमा प्रयोग गरिएका चार वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राप्ती सोनारी गाउँपालिका–३ निवासी ३२ वर्षीय सागर खत्री र वडा नम्बर ४ निवासी ३५ वर्षीय लक्ष्मण चौधरी रहेका छन् । पक्राउ परेका व्यक्ति, बरामद कुखुरा तथा सवारीसाधनलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्