बाँके, ढकेरी: राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२६ विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरिएको छ। प्रोजेक्ट सम्बर्द्धन संस्थाको सहकार्य तथा गणेश माध्यमिक विद्यालयको आयोजनामा बिहीबार कार्यक्रम सम्पन्न भएको हो।
मे २२ का अवसरमा आयोजित कार्यक्रममा कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाका पाँच वटा विद्यालयका विद्यार्थीहरूलाई ढकेरी वनस्पति उद्यानको अवलोकन गराइएको थियो। अवलोकनका क्रममा विद्यार्थीहरूलाई जैविक विविधताको महत्व, जडीबुटीको पहिचान, संरक्षण तथा सम्बर्द्धन सम्बन्धी जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम अन्तर्गत गणेश माध्यमिक विद्यालयमा हाजिरजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा नेरा मावि, कोहलपुर–१२ खड्कवार प्रथम भएको थियो भने गणेश माध्यमिक विद्यालय ढकेरी द्वितीय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अगैया तृतीय भएका थिए।

कार्यक्रममा बोल्दै फेकोफियन बाँकेकी अध्यक्ष सावित्री पुनले वन, वातावरण तथा जैविक विविधताको संरक्षण पृथ्वीमा रहेका वनस्पति, जीवजन्तु, सूक्ष्मजीव र सम्पूर्ण पारिस्थितिक प्रणालीको संरक्षणसँग प्रत्यक्ष जोडिएको बताइन्।
उनका अनुसार युरोपियन युनियन (ईयु) र अष्ट्रेलियन विकास सहयोगद्वारा वित्तपोषित “प्रोजेक्ट सम्बर्द्धन” बाँके र बर्दियामा सञ्चालन भइरहेको चारवर्षे संरक्षण तथा जीविकोपार्जनसम्बन्धी पहल हो। यस परियोजनाले स्थानीय समुदाय तथा सीमान्तकृत समूहलाई दिगो वन व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा हरित उद्यम विकासमा सशक्त बनाउने लक्ष्य लिएको छ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक अगुवा, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।











