बर्दिया: कृष्णसार संरक्षण क्षेत्रमा ५४ वर्षदेखि बसोबास गर्दै आएका जोताहा किसानहरू अहिले त्रासमा रहेका छन् । २०२८ सालदेखि तत्कालीन गाउँ पञ्चायतको स्वीकृतिमा ऐलानी जग्गा जोतभोग गर्दै आएका ती किसानहरू हाल डोजरले बस्ती भत्काइने हो कि भन्ने डरमा छन् ।
डिभिजन वन कार्यालयले वन क्षेत्रभित्र बसोबास गर्ने सुकुम्बासी हटाउने सूचना जारी गरी विभिन्न स्थानका घरटहरा भत्काउन थालेपछि त्रास फैलिएको हो । बस्ती व्यवस्थापनको आशामा रहेका जोताहा किसानहरू अहिले आफूहरूको घर हटाइने हो कि भन्ने चिन्तामा छन् ।
गुलरिया नगरपालिका–२, कृष्णसार संरक्षण क्षेत्रभित्र बसोबास गर्ने मिना सुवेदीले २०२८ सालदेखि आफ्ना ससुरा–ससुराले बसोबास गर्दै आएको बताए । उनले २०५१ सालमा विवाह हुँदा बस्ती व्यवस्थापन गरिने सुनेको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको गुनासो गरे ।
उनले भने, “मेरो आधा जिन्दगी पनि यहीँ बित्यो । अहिले बस्तीलाई बिना व्यवस्थापन हटाइन्छ कि भन्ने चिन्ता लागेको छ ।”
सोही ठाउँका महेन्द्रसिंह महताराले पीडित जोताहा किसानलाई व्यवस्थापन नगरी लखेटिने हो कि भन्ने त्रास बढेको बताए । उनले भने, “अहिले डोजरको हल्ला धेरै छ, डोजर देखेपछि डर लाग्छ ।”
२०२८ सालदेखि बसोबास गर्दै आएका बर्दियाका अधिकांश स्थानका जोताहा किसानहरूले जग्गा प्राप्त गरिसकेका भए पनि कृष्णसार संरक्षण क्षेत्रभित्रका किसानहरूले भने जग्गा नपाएको र अन्यत्र स्थानान्तरणसमेत नभएको अवस्था छ ।
सरकारले ऐलानी जग्गामा बसोबास गर्ने किसानलाई स्थानान्तरण नगरी कृष्णसार संरक्षण क्षेत्र घोषणा गर्दा समस्या जटिल बनेको हो । यस क्षेत्रमा हाल २०२८ सालदेखि बसोबास गर्दै आएका ९१ घरधुरी र २०६३ सालपछि आएका ४९ घरधुरी गरी कुल १४० घरधुरी सुकुम्बासी रहेको जनाइएको छ ।
२०४३ देखि २०५२ सालसम्म २४५ बिघा जग्गा मुआब्जा दिएर अधिग्रहण गरिएको थियो । १४१ बिघामा बसोबास गरिरहेका ५१ घरधुरी जोताहा किसानलाई अन्यत्र स्थानान्तरण गरी सट्टामा जग्गा उपलब्ध गराउने सहमति भए पनि उक्त संख्या बढेर हाल ९१ घरधुरी पुगेको छ ।
बस्ती व्यवस्थापनका लागि कृष्णसार संरक्षण क्षेत्रको पहलमा २०७२ सालमा छानबिन आयोग गठन गरिएको थियो । आयोगले बस्ती अध्ययन गरी व्यवस्थापनका लागि स्थान समेत तोकेर प्रतिवेदन मन्त्रालयमा बुझाए पनि हालसम्म कार्यान्वयन नभएकाले समस्या यथावत् रहेको छ ।
कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख भोजराज पन्थले संरक्षण क्षेत्रभित्र बसोबास गर्नेहरू त्रासमा हुनु स्वाभाविक भए पनि हालसम्म बस्ती हटाउने कुनै निर्देशन नआएको बताए । उनले विभागसँग समन्वय भइरहेको र निर्देशनको प्रतीक्षामा रहेको जानकारी दिए ।
यस क्षेत्रमा २०३२ सालदेखि लोपोन्मुख कृष्णसार भेटिन थालेको थियो । २०६५ सालमा यस क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरिएको भए पनि बस्ती स्थानान्तरण भने हुन सकेको छैन । ७०८ बिघा क्षेत्रफलमा फैलिएको यस संरक्षण क्षेत्रमा हाल २४४ वटा कृष्णसार रहेका छन् ।











