कोहलपुर,बाँके: ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र को निर्वाचन तालिका अनुसार शनिबार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । अन्तिम नामावली सार्वजनिक भएसँगै पुस्तकालयको चुनावी माहोल पनि तातिएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको विवरण अनुसार उपाध्यक्ष पदका उम्मेदवार निर्मल आचार्य तथा सचिव पदका उम्मेदवार रबिन्द्र प्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका छन् । उनीहरूसँग प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका सुरेन्द्र बहादुर थापा (उपाध्यक्ष) र हर्क बहादुर बुढथापा (सचिव) ले उम्मेदवारी फिर्ता लिएपछि आचार्य र सुवेदी निर्विरोध बनेका हुन् । निर्वाचन समितिका अधिकृत विष्णु प्रसाद बेल्बासेले उक्त जानकारी दिएका छन् ।

अब अन्य पदका लागि भने आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पुस्तकालय परिसरमै मतदान हुने भएको छ । निर्वाचनमार्फत एक अध्यक्ष, एक सह–सचिव, एक कोषाध्यक्ष, खुल्ला महिला दुइ सदस्य तथा खुल्ला तर्फ तीन सदस्य चयन गरिनेछ ।
अध्यक्ष पदका लागि सुष्मा शर्मा र एकराज शर्मा चुनावी मैदानमा छन् । कोषाध्यक्ष पदमा गीता देवी शर्मा र राजेन्द्र विष्टबीच प्रतिस्पर्धा हुने भएको छ भने सह–सचिव पदमा शर्मिला मल्ल र ईश्वर प्रसाद शर्मा उम्मेदवार बनेका छन् ।
महिला सदस्यतर्फ मीना कुमारी बि.सी., लक्ष्मी कुमारी पौडेल र हरिकला अधिकारी प्रतिस्पर्धामा छन् । खुल्ला सदस्यतर्फ वीरेन्द्र कुमार शाही, संगीन शर्मा, जिल्लेदार थारु, हेमराज बराल र दीपक कुमार राई चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू घरदैलो अभियान, भेटघाट तथा सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत मतदातासँग समर्थन माग्न व्यस्त देखिएका छन् ।











