तातो हावा लु र अत्यधिक गर्मीबाट जोगिन नेपालगन्जका वाटरपार्क पर्यटकको रोजाईमा – Buletnews
तातो हावा लु र अत्यधिक गर्मीबाट जोगिन नेपालगन्जका वाटरपार्क पर्यटकको रोजाईमा

मनिकापुरस्थित अत्याधुनिक “वन्डरल्याण्ड वाटर एण्ड फन पार्क” मा सबैभन्दा बढी पर्यटक

  • बुलेट न्युज

बाँके: अत्यधिक गर्मीबाट जोगिन अहिले बाँके लगायत छिमेकी भारतीय सहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगन्जका वाटरपार्क र पौडीपोखरी बनेका छन् ।

तातो हावा लु र अत्यधिक गर्मीबाट जोगिन यहाँ निर्माण गरिएका वाटरपार्क र विभिन्न होटल तथा अन्य स्थानमा निर्माण गरिएका स्विमिङ पुलमा धेरै ठुलो सङ्ख्यामा नेपाली तथा भारतीयहरु पुग्न थालेका छन् ।

गर्मी छल्नका लागि सीमापारी भारतका बहराइच, नानपारा, बाबागञ्ज, मिहिपुरवा, कैसरगन्ज लगायत विभिन्न सहर र नेपालगन्ज, कोहलपुर तथा सो वरिपरिबाट आउनेले यहाँका पौडीपोखरी र वाटरपार्कहरु अहिले भरिभराउ छन् ।

नेपालगन्जको जानकी गाउँपालिका–६ मनिकापुरस्थित अत्याधुनिक “वन्डरल्याण्ड वाटर एण्ड फन पार्क” मा सबैभन्दा बढी मानिस पुग्न थालेको सो वाटरपार्कका सञ्चालक शिवन्सु यादवले बताए ।

उनका अनुसार विशेषगरी शनिबार र आइतबार तथा सार्वजनिक बिदामा धेरै मानिस आउने गरेकोमा अहिले गर्मी अत्यधिक बढेपछि हरेक दिन यहाँ ५०० देखि एक हजारसम्म पर्यटक आउने गरेका छन् ।

गर्मी सुरु भएसँगै यहाँ आउने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएकोमा हाल आएर अत्यधिक भिड बढेको यादवले बताए ।

गर्मीबाट राहत खोज्दै आएका पर्यटकका अनुसार यहाँको अनुभव निकै उत्साहजनक छ । भारत बहराइचका दिनेश मिश्रले गर्मीमा पानीमा खेल्दा शरीर मात्र होइन, मन पनि चिसिएको जनाउँदै साथीहरूसँग पौडी खेल्दा अतिनै रमाइलो भएको बताए।

यस्तै नेपालगन्जका रमेश साहुले बढ्दो तापक्रमका बीच यस्तो सुविधा सम्पन्न स्थान नेपालगन्जमै उपलब्ध हुनु सकारात्मक पक्ष भएको जनाउँदै केही समय भए पनि यहाँ आएर रमाउँदा गर्मी बिर्सिने गरेको बताए।

सोही प्रकारको भिड नेपालगन्जको बालेगाउँमा रहेको मेरो प्लानेट वाटरपार्क र कोहलपुरको हैप्पी वर्ड नामक वाटरपार्कमा पनि हुने गरेको छ । चरम गर्मी छल्न टाढा टाढाबाट ती स्थानमा दिनभरि नुहाउनका लागि धेरै मानिस पुग्ने गरेको जनाइएको छ । वाटरपार्क बाहेक नेपालगन्ज रंगशालामा रहेको स्विमिंग पुल, खजुरा मिनि पार्कमा रहेको स्विमिङ पुल लगायत करिब दुई दर्जन भन्दा बढी होटलमा रहेका स्विमिङ पुल पनि गर्मी छल्नेले भरिभराउ छन् ।

भारतीय सीमानासँग जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको नेपालगन्जमा निर्माण गरिएका वाटरपार्कले गर्मीको बेला नेपालका आन्तरिक तथा भारतका पर्यटकलाई ठुलो सङ्ख्यामा आकर्षित गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्