कोहलपुरमा जेब्रा क्रसिङ पुनः रंगरोगन, सडक सुरक्षामा चासो – Buletnews
कोहलपुरमा जेब्रा क्रसिङ पुनः रंगरोगन, सडक सुरक्षामा चासो
  • बुलेट न्युज

कोहलपुर, बाँके: बिगत लामो समयदेखि कोहलपुर सडक खण्डका विभिन्न स्थानमा रहेका जेब्रा क्रसिङहरू मेटिँदै जाँदा पैदलयात्री, विद्यार्थी तथा सर्वसाधारणलाई सडक पार गर्न कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको थियो ।

यसै अवस्थालाई मध्यनजर गर्दै आइतबार सार्वजनिक बिदाको अवसर पारेर कोहलपुरस्थित हाई स्कूल चोक र पिपिरी चोकमा रहेका जेब्रा क्रसिङहरू पुनः रंगरोगन गरिएको छ । जिल्ला ट्राफिक कार्यालय कोहलपुरको समन्वय, बिशाल ट्रेड्सको सहयोग तथा परिवर्तनशील युवा क्लबको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कोहलपुर क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटनाका घटना बढ्दै गएपछि सडक सुरक्षालाई प्राथमिकतामा राख्दै जेब्रा क्रसिङलाई पुनः स्पष्ट बनाउने अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ । विशेषगरी विद्यालय आसपासका क्षेत्रमा विद्यार्थी तथा पैदलयात्रीको सुरक्षाका लागि जेब्रा क्रसिङ प्रभावकारी हुने विश्वास गरिएको छ ।

कार्यक्रममा सहभागीहरूले सडक सुरक्षाका लागि सम्बन्धित निकायले नियमित रूपमा सडक संकेत, जेब्रा क्रसिङ तथा ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन् । स्थानीयवासीले पनि यस्तो अभियानले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्