बाँके लगाएत पश्चिमी तराई क्षेत्रमा चर्को गर्मीबाट जनजीवन प्रभावित – Buletnews
अधिक गर्मिले लुको अवस्था सिर्जना
बाँके लगाएत पश्चिमी तराई क्षेत्रमा चर्को गर्मीबाट जनजीवन प्रभावित

चिकित्सकहरूका अनुसार दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदुरहरू बढी प्रभावित

  • बुलेट न्युज

बाँके: छिमेकी मुलुक भारतमा अत्यधिक गर्मी र हिटस्ट्रोकका कारण मृत्युका खबरहरू आइरहेका बेला नेपालका पश्चिमी तराई क्षेत्र पनि चर्को गर्मीबाट प्रभावित भएका छन् ।केही दिनदेखि नेपालगञ्जस्थित भेरी अस्पतालमा हरेक दिन करिब १०० जना बिरामी गर्मीका कारण प्रभावित भएर आउने गरेका छन् । लुबाट प्रभावित अधिकांश बिरामीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ ।

‘हाम्रो अस्पतालका सबै २०० बेडहरू भरिएका छन्, जसमा लु प्रभावित बिरामीहरूका संख्या पनि उल्लेख्य छन्,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले भने, ‘इमर्जेन्सी वार्डमा बिरामीहरूको चाप अत्यधिक छ । तापक्रम अझ बढ्दै गएमा हिटस्ट्रोकका केसहरू अझ बढ्ने अनुमान गरेका छौं ।’

दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगञ्ज, धनगढी, दिपायललगायतका क्षेत्रका मानिसहरू गर्मीबाट प्रभावित भएका छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अन्य जिल्लाहरूमा पनि तापक्रम करिब ४० डिग्री सेल्सियस आसपास पुगेको छ, जसले लुको अवस्था सिर्जना गरेको छ ।

चिकित्सकहरूका अनुसार दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदुरहरू बढी प्रभावित भएका छन् । लुका बिरामीबाहेक ज्वरो, झाडापखाला र सर्पदंशका केसहरू पनि बढेको उनीहरूले बताएका छन् ।

दक्षिणी भारतमा यस वर्षको गर्मी याममा मात्र  कम्तीमा १६ जनाको हिटस्ट्रोकका कारण मृत्यु भएको खबर छ । भारतका धेरैजसो ठाउँमा हिजोआज तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । नेपालको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई जिल्लाहरूका लागि लुको चेतावनी र पहाडी क्षेत्रमा ‘तातो दिन’ को चेतावनी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्