बर्दिया: समस्याग्रस्त भएका पाँच वटा वयस्क र एउटा बच्चा पाटेबाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले खोरमा राखेर पाल्ने गरेको छ । विभिन्न समयमा नियन्त्रणमा लिइएका ती बाघलाई निकुञ्जको केन्द्रीय कार्यालयस्थित तथा रम्भापुर चेकपोस्टपरिसरमा राखिएका छन् ।
निकुञ्जका अनुसार कार्यालयपरिसरमा दुई वटा भाले बाघ राखिएका छन् भने रम्भापुर चेकपोस्टमा दुई भाले र एक पोथी बाघ राखिएको छ । एउटा बाघको बच्चासमेत संरक्षणमा छ । जङ्गलमा छाडिए फेरि मानव बस्तीमा आक्रमण गर्ने जोखिम रहने भएकाले ती बाघलाई नियन्त्रणमै राखिएको निकुञ्जले जनाएको छ ।
समस्याग्रस्त बाघलाई खोरमा राख्दा निकुञ्जलाई आर्थिक भारसमेत बढ्दै गएको छ । प्रत्येक बाघलाई दैनिक करिब सात केजी मासु खुवाउनु पर्छ । निकुञ्जले दुई दिनमा प्रतिबाघ करिब तीन हजार पाँच सय रुपियाँ खर्चिने गरेको जनाएको छ । यस अनुसार एउटा बाघ पाल्न मासिक करिब ५२ हजार पाँच सय रुपियाँ तथा वार्षिक करिब छ लाख ३० हजार रुपियाँ खर्च हुने गरेको छ । पाँच वटा बाघका लागि मात्रै वार्षिक ३२ लाख रुपियाँभन्दा बढी खर्च भइरहेको निकुञ्जको तथ्याङ्क छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्नु निकुञ्जका लागि चुनौतीपूर्ण बन्दै गएको बताए। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोककुमार रामका अनुसार बाघलाई दुई फरक स्थानमा सुरक्षित रूपमा राखिएको छ । उनले खोरमा राखिएका बाघको नियमित स्वास्थ्य परीक्षणसमेत हुँदै आएको जानकारी दिए। बर्दियामा बाघ–मानव द्वन्द्वका घटना विगतदेखि नै दोहोरिँदै आएका छन् ।
छ वर्षअघि गेरुवा गाउँपालिका–४, राजीपुरका ६८ वर्षीय लहानु थारूको गाईवस्तु चराउन गएका बेला बाघको आक्रमणबाट मृत्यु भएको थियो । त्यसै गरी खाता जैविक मार्ग अन्तर्गत कुस्मनिया सामुदायिक वन क्षेत्रमा २०७९ भदौ २६ गते भैँसी चराउन गएका रामदिन थारूको पनि बाघको आक्रमणमा ज्यान गएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार २०५६ सालयता निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणबाट हालसम्म ३५ जनाले ज्यान गुमाइसकेका छन् । मानव बस्ती विस्तार, वन क्षेत्रमा बढ्दो चाप तथा वन्यजन्तुको आवतजावतले द्वन्द्व बढ्दै गएको संरक्षणकर्मीको भनाइ छ ।











