कोहलपुर,बाँके:इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले अदालतबाट एक करोड रुपियाँभन्दा बढी जरिवाना तोकिएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा बाँके जिल्ला अदालतबाट कैद तथा बिगो–जरिबाना सजाय तोकिएपछि हालसम्म फरार रहेका कोहलपुर नगरपालिका–१० का ३४ वर्षीय कुलिन भन्ने अविनाश रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक रामनारायण गुप्ताका अनुसार रानाविरुद्ध बाँके जिल्ला अदालतले विभिन्न समयमा विभिन्न मुद्दामा कैद तथा जरिबाना तोकेको थियो ।
प्रहरीका अनुसार २०८१ माघ २८ गते बैंकिङ कसुर मुद्दामा उनलाई २ महिना कैद र एक करोड ३० लाख रुपियाँ जरिबाना तोकिएको थियो । त्यसैगरी २०८२ वैशाख ८ गते अर्को बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र १६ लाख ५० हजार रुपियाँ जरिबाना तोकिएको थियो ।
त्यस्तै २०८२ जेठ २० गते चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार रहँदै आएका थिए । सोमबार उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरी बाँके जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।











